अत्तरिया – कैलालीको धनगढीमा आयोजित एक कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यका विषयलाई प्राथमिकता दिन जोड दिइएको छ । यार्ड नेपालले आयोजना गरेको पत्रकारहरू सँगको अन्तरक्रिया कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्र संवेदनशील विषय भएकाले सञ्चार माध्यममा यस्ता विषयलाई प्राथमिकता दिन जोड दिइएको हो ।
यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरी (स्माइल) ले सञ्चार माध्यमले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सञ्चार माध्यमबाट जनतालाई छिटो सुसूचित गर्न सकिने बताए । उनले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधारका लागि पनि सञ्चार माध्यमको ठूलो भूमिका हुने बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका चेत राज फुलारा र आशा थापाले कैलालीमा यौन तथा प्रजनन स्वास्थ्यको अवस्था र यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका अध्यक्ष हिमाल जोशीले पत्रकारहरूले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिदै आएको बताए । उनले स्वास्थ्य क्षेत्र गम्भिर विषय भएकाले यसका भएका नीतिगत त्रुटि सुधार र जनतालाई स्वास्थ्य सम्बन्धी सचेत गराउन सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।















