शक्तिशाली भूकम्पले तहसनहस

अत्तरिया – बझाङमा मंगलबार गएको शक्तिशाली भूकम्पले भौतिक संरचना तहसनसह बनाएको छ । भुकम्पका कारण बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएका छन भने ग्रामिण क्षेत्रमा घरहरुमा पनि ठूलो क्षति पुगेको छ । भूकम्पबाट दुर्गाथली गाउँपालिका, तलकोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालय र घर भत्किएका छन् ।

maya metro hospital

भुकम्पले दुर्गाथली गाउँपालिका – २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भुकम्पले तलकोट गाउँपालिका–१ को सुनिकोट माध्यमिक विद्यालय, जयपृथ्वी नगरपालिका–१० को सत्यवादी माध्यमिक विद्यालय र हिमालय माध्यमिक विद्यालयको भवन पनि चर्किएको प्रहरीले जनाएको छ । भूकम्पले चैनपुरमा रहेको बाल विकास मावि गोलाईको भवन पनि भत्किएको छ । पहिलो भूकम्प आएपछि विद्यार्थीलाई घर पठाउँदा ठूलो क्षतिबाट जोगिएको शिक्षक नरेन्द्र उपाध्यायले बताए । भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका– ३ गैरा गाउँस्थित दुर्गा माविको भवनमा पनि क्षति पुगेको छ ।

joshi vada pasal 2

तलकोट गाउँपालिकाकी उपप्रमुख पार्वती कुँवर भण्डारीका अनुसार भूकम्पले ठाउँ ठाउँमा घर भत्किनुका साथै जमिन चिरा परेको छ । तलकोट गाउँपालिका–१ को पक्की वडा कार्यालय भवन भूकम्पले पूर्ण रुपमा क्षति गरेको छ । भूकम्पका कारण ठाउँ–ठाउँमा भवनहरू भत्किएको खबर आइरहे पनि विस्तृत विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण ८ जना घाइते भएका छन् । बझाङमा ७ जना र बैतडीमा १ जना घाइते भएका छन । बझाङमा भूकम्पबाट घाइते हुनेमा १८ वर्षीया सुनिता रोकाया, ३ वर्षीया निकिता बोहरा, ७ वर्षीया सलिना जोशी, १६ वर्षीया अलिस बम, प्रमिला जोशी, १३ वर्षीया सविता रोकाया र ३६ वर्षीया शान्तिदेवी थापा रहेका छन् । घाइतेहरूको अवस्था सामान्य छ । भूकम्पको झट्काले भीरबाट खसेको ढुंगा लागेर बैतडीको डिलाशैनी गाउँपालिका–२ रोपनीबगडकी ११ वर्षीया निरा भण्डारी घाइते भएकी छिन । लटिनाथ आधारभूत विद्यालय अमरखेतका शिक्षक लोकेन्द्रबहादुर धामीका अनुसार कक्षा–४ मा अध्ययनरत भण्डारी विद्यालय छुट्टी भएपछि घर फर्किरहेको अवस्थामा माथिबाट खसेको ढुंगा लागेर बायाँ खुट्टा भाँचिएको छ ।

भूकम्पसँगै आएको सुक्खा पहिरो जाँदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । प्रहरीका अनुसार सडकमाथिबाट पहिरो जाँदा जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा राजमार्ग अवरुद्ध भएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पराकम्पन आउने क्रम जारी रहेका कारण सडक खुलाउन नसकिएको बताए । पाण्डेयले सडक खुलाउन डोजरलगायतका उपकरण तयारी अवस्थामा राखिएको बताए । उनले जिल्लामा अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताउँदै सूचना संकलनको काम भइरहेको जानकारी दिए ।

लगातार ६ पटक भूकम्प

बझाङमा मंगलबार ६ पटक भूकम्प गएको छ । दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूटको भूकम्प गएको थियो । त्यसपछि दिउँसो ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बझाङ मै केन्द्रविन्दु भएर ३ बजेर ४५ मिनेटमा ४.१ रेक्टर स्केलको, अपराहन्न ४ बजेर २८ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै ४ बजेर ३१ मिनेटमा ४.३ रेक्टर स्केलको र बेलुकी ५ बजेर १९ मिनेटमा ५ रेक्टरको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा ६ महिनाको अवधिमा १५ वटा भूकम्मको धक्का मापन भएको छ । वैशाखयता सो प्रदेशमा साना ठुला गरी चार म्याग्निच्युडमाथिका १५ वटा भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

६ दशमलव ३ म्याग्निच्युडको भूकम्पको झड्का नेपालका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश संगै भारतको दिल्लीसम्म पनि महसुस गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.