बैतडी –करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी एक महिलाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका – ६ बांगाबगरकी ४३ बर्षीया कलावती नाथको उपचारका क्रममा वर्न हस्पिटल किर्तिपुरमा बुधबार मृत्यु भएको हो ।

भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइती भएकी कलावतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि वर्न हस्पिटल किर्तिपुर लगिएको थियो । किर्तिपुरमा उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ ।

घाँस काट्ने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर नाथलाई करेन्ट लागेको थियो ।