धनगढी उपमहानगरले पठायो जेष्ठ नागरिकलाई तीर्थयात्रामा

धनगढी – धनगढी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रका जेष्ठ नागरिकलाई तीर्थयात्रामा पठाएको छ । आइतबार धनगढी उपमहानगरपालिकाले एक कार्यक्रमका बीच नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थात्रामा पठाउँदै सम्मानसहित बिदाइ गरेको छ । नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानालगायत जनप्रतिनिधिले टीका र खादा लगाएर बाजागाजा सहित जेष्ठ नागरिकलाई तीर्थयात्राका लागि धनगढीबाट बिदाइ गरेका छन् ।

maya metro hospital

उनीहरू एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन । ज्येष्ठ नागरिकलाई सम्मान र जेष्ठ नागरिकका लागि पनि सरकार छ भन्ने अनुभूति दिलाउन जेष्ठ नागरिकलाई उपमहानगरको खर्चमा तीर्थयात्रामा पठाइएको नगर प्रमुख हमालले बताए ।

बिदाइ कार्यक्रममा मेयर हमालले भने,‘स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एक प्रकारको सम्मान हो, उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तरार्द्धमा स्थानीय सरकार हाम्रा लागि पनि छ भन्ने महशुस होस् ।’ साथै यसले धार्मिक पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्ने मेयर हमालको भनाइ छ । उपमहानगरले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गरेको छ ।

attariya hospital

गत वर्षदेखि यो कार्यक्रम सुरु गरेका हमालले आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइने बताए । उपमहानगरले पाँचवटा बस भाडामा लिएर जेष्ठ नागरिकलाई धार्मिक यात्रामा पठाएको हो । प्रत्येक बसमा एक–एक जना स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ । अघिल्लो वर्ष पनि उपमहानगरले एक सय २२ जेष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.