खाेज्नुहाेस

पुनर्वासमा धानमा भएको क्षतिको कारण अझै पत्ता लागेन

Image

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने दोदा नदी किनारमा धानमा भएको क्षतिको कारण अझै पत्ता लागेको छैन । उक्त क्षेत्रको पानी र माटोको नमुना परीक्षणका लागि पठाएको एक महिनासम्म पनि नार्कबाट परीक्षण रिपोर्ट नआउँदा कारण प्रष्ट हुन नसकेको हो ।

साउन अन्तिम साताको बाढीले डुबानमा परेको क्षेत्रमा ठूलो मात्रामा धानबाली नष्ट भएको छ । पुनर्वास-५ को सिमरी र उद्री तथा वडा नम्बर १० परासनमा बाढीपछिको डुबानले ३ सय ८५ बिघाको धान र २ सय १८ बिघाको उखुमा क्षति पुगेको छ । डुबान घटेको दोस्रो-तेस्रो दिनदेखि धानका बोट सुक्न थालेको थियो । एक सातामै उक्त क्षेत्रमा धान सुकेर नष्ट भएको छ ।

attariya hospital

स्थानीयले नजिकै रहेको भागेश्वर सुगर मिलबाट बाढीसँगै बगेर आएको केमिकलका कारण धान नष्ट भएको आरोप लगाएका छन् । सिमरीमै रहेको सुगर मिलले जथाभावी छाडेको केमिकल बगेर धान खेतमा पुगेको उनीहरुको आरोप छ । ‘धान सुक्न थालेपछि हामीले माटो र पानीको नमुना परीक्षणका लागि पठाएका थियौं,’ पुनर्वास नगरपालिकाको कृषि शाखाका प्रमुख कर्ण बहादुर शाहीले भने, ‘तर हालसम्म परीक्षण रिपोर्ट आएको छैन ।’ उनका अनुसार सुदूरपश्चिम प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा नमुना पठाइएको हो ।

कृषि शाखा प्रमुख शाही परीक्षणबारे निरन्तर सोधपुछ गरिरहेको बताउँछन् । पानीको परीक्षण नार्कमा सम्भव नभएपछि निजी प्रयोगशालामा पठाएको जानकारी पाएको उनले बताए ।

navjiwan hospital

‘सरकारी स्तरमा यसरी पानी परीक्षणका लागि प्रयोगशाला नै छैन भन्ने जानकारी आयो,’ सुदूरपश्चिम प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी टिकेन्द्र कुश्मीले भने, ‘नार्कले निजी वाटर इन्जिनियरिङ कम्पनीलाई नमुना परीक्षणका लागि दिएको छ ।’ निजी कम्पनीले एक साताभित्रै परीक्षण रिपोर्ट दिन सकिने जानकारी आएको उनले बताए । यस विषयमा नार्कसँग समन्वय भइरहेको पनि उनको भनाइ छ ।

पानीमा विषादी वा केमिकल परीक्षणका लागि नार्क वा नाष्ट कतै पनि प्रयोगशाला नभएको जानकारी पाएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । जसका कारण परीक्षणमा समस्या भइरहेको हो । धान र उखु नष्ट हुने कारण पत्ता नलाग्दा कृषकहरु राहात तथा क्षतिपूर्तिका लागि समेत अन्योलमा छन् । पालिकाले कारण पत्ता नलगाइ अन्य प्रक्रिया अगाडि बढाउन नसिकने जनाएको छ ।

मन्त्रालयले पनि कारण पत्ता लागेपछि आवश्यक विवरण संकलन गरेर राहात तथा क्षतिपूर्तिका लागि केही प्रक्रिया अगाडि बढाउन सकिने कृषि प्रसार अधिकृतसमेत रहेका कुश्मीले बताए । सुगर मिलबाट कमजोरी भएको देखिए त्यहीअनुसार कृषकहरुले क्षतिपूर्तिका लागि दाबी गर्न सक्ने उनको भनाइ छ ।

साउन अन्तिम साता आएको बाढीले दोदा नदी किनारको सिमरी, उद्री र परासन क्षेत्र डुबानमा परेको थियो । दुई/तीन दिनपछि पानी घटेको थियो । तर पानी घटेपछि एकाएक धान सुक्न थालेपछि किसान आत्तिए । उनीहरुले सुगर मिलकै केमिकलका कारण धानबाली सुकेको बताएका छन् ।

‘धान मरेर खेत बाँझै छ, केले सुक्यो भन्ने कारण समेत पत्ता लागेन,’ उद्रीका कृषक रामसिंह रानाले भने, ‘वडा कार्यालयमा निवेदन दिएका छौं, त्यसपछि के भयो केही थाहा छैन ।’ उनको डेढ बिघाको धान पुरै नष्ट भएको छ । आधा बिघाको उखु समेत सुकेको उनले बताए ।

सिमरी, उद्री र परासन क्षेत्रमा बर्सेनि डुबान हुने गरेको छ । विगतमा अहिले झैं धान कहिल्यै सुकेको थिएन । तर यस पटक भने धान पुरै सखाप पारेको छ ।