चुरे संरक्षणका लागि एकीकृत बस्ती विकासमा जोड

अत्तरिया – चुरेमा भइरहेको अतिक्रमण रोकी चुरेका कारण हुने जोखिम कम गर्नका लागि एकीकृत बस्ती विकास गर्नुपर्नेमा जोड दिइएको छ । सोमबार अत्तरियामा सञ्चार प्रतिष्ठान नेपाल कैलालीले आयोजना भएको चुरे संरक्षणका सवालहरूमा सार्वजनिक सुनवाई कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।

maya metro hospital

चुरेमा अतिक्रमण बढ्दै गएकाले चुरेमा मानव बस्ती समेत जोखिममा पर्न थालेकाले एकीकृत बस्ती विकास गर्न चुरे पीडितहरुको समेत माग रहेको थियो ।

चुरे निवासी नरेन्द्र सिह धामीले हाल चुरेका अधिकांश बस्ती जोखिममा परेको बताए । उनले साउन २२ गते आएको बाढीले आफूहरुको बस्ती पनि जोखिममा परेकाले हाल गोदावरीको वन क्षेत्रमा आश्रय लिएर बसिरहेको बताए ।

attariya hospital

उनले जोखिमयुक्त क्षेत्रमा बसेका जनतालाई उचित स्थानमा बसाउन आवश्यक रहेको बताए । ‘चुरेको माटो एकदमै कमजोर छ । त्यसैले त्यस ठाउँमा सामान्य पानी पर्दा पनि बाढी पहिरोको जोखिम छ’ उनले भने ‘चुरेमा मानव बस्ती बसिरहने हो भने ८/१० वर्षमा तराइले पनि ठूलो क्षति बेहोर्नुपर्ने छ ।’

बाह्रवन साझेदारी समितिका अध्यक्ष ठक्कर विक्रम शाहीले चुरे संरक्षण नभएमा तराई मरुभूमिमा परिणत हुने बताए । उनले चुरे संरक्षणका लागि एकीकृत बस्ती बनाएर चुरेमा वन विकासका लागि सेना राख्न सुझाव दिए । ‘अब चुरेको संरक्षणको लागि बोलेर मात्रै हुन्दैन’ उनले भने ‘चुरेमा बाढीबाट विस्थापित भएकाहरुलाई नै पुनस्थापना गर्न नसकिएको अवस्थामा पुरै चुरेमा एकिकृत बस्ती विकास सरकारले गर्न सक्छ वा सक्दैन ।’

गोदावरी नगरपालिका – ४ का वन संरक्षणकर्मी गोरख बहादुर खड्काले चुरे संरक्षणका लागि अरबौँ रकम खर्च भएपनि प्रगति नदेखिएको बताए । उनले चुरेमा वन संरक्षण गर्न सेना प्रयोग गरिनुपर्ने बताए । ‘चुरे संरक्षण भएन भने तराई मरुभूमिमा परिणत हुनेछ’ उनले भने ‘अहिले नै यस क्षेत्रमा चुरे अतिक्रमणको असर परिसकेको छ । चुरेमा बसेकाहरुको लगत संकलन गरेर । उचित व्यवस्थापन गरिनु पर्छ ।’

चुरेका पूर्व वडाध्यक्ष कृष्ण बहादुर मल्लले चुरेको नाममा बजेट मात्रै दोहन भएको बताए । उनले चुरेको नाममा तराईका जिल्लामा कार्यक्रम गरिनु गलत भएको बताए ।
वन संरक्षणकर्मी डण्डी राज सुवेदीले चुरेको संरक्षणको लागि अन्दाधुन्द सडक खन्ने काम रोकिनुपर्ने बताए । उनले अहिले आवश्यकताका आधारमा भन्दा पनि मनलागि सडक खनिएकाले पनि चुरे जोखिममा परेको बताए ।

वन संरक्षणर्मी टिका दत्त जोशीले चुरेको संरक्षणका लागि चुरेबाट विस्थापित भएकाहरुको उचित व्यवस्थापन गरिनुपर्ने बताए । उनले चुरेमा जोखिममा रहेको बस्तीलाई स्थानान्तरण गरेर सो क्षेत्रलाई संरक्षण गरिनुपर्ने बताए ।

चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले चुरेमा जलवायु परिवर्तनको असर पनि देखिएकाले त्यसको जोखिम कम गर्नको लागि काम गरिनुपर्ने बताए । उनले चुरे संरक्षणका लागि तराइका पालिकाहरुले चुरे फेदमा अतिक्रमण गर्ने काम रोक्नुपर्ने बताए । उनले चुरेमा विस्थापित भएकाहरुको उचित व्यवस्थापन नहुँदै हटाउन नहुने तर्क राखे ।

गौरीगंगा नगरपालिकाका नगरप्रमुख देविदत्त कँडेलले चुरे संरक्षणका लागि सबै सरोकारवाहरुले साझा धारणा बनाउनु पर्ने बताए । उनले चुरे संरक्षण नभए तराई मरुभूमि बन्ने खतरा भएकाले चुरेमा मनलाग्दी उत्खनन् रोकिनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले पनि चुरेको संरक्षणको लागि एकीकृत बस्ती विकासमा जोड दिइन् । उनले चुरेमा वाढी पीडित भएर जंगलमा बस्ने गरिएकाले यसको समस्या सामाधानका लागि एकीकृत बस्ती विकास गर्नुनुपर्ने भएकाले प्रदेश सरकार सोही अनुसार नीति बनाएर अगाडी बढेको बताइन् ।

अर्का प्रदेश सभा सदस्य घनश्याम चौधरीले चुरे संरक्षण गर्न नसके ५० प्रतिशत जनसंख्या प्रभावित हुने बताए । उनले हाल प्रदेश सरकारले अर्थ तथा प्रकृति श्रोत समितिले चुरे सरक्षणको लागि काम गर्ने बताए ।

‘चुरेमा मानवीय र प्रकृतिका कारण जोखिम बढेको छ’ उनले भने ‘यसका लागि हामीले एकीकृत बस्ती विकासमा जोड दिएर सरक्षणका काम गरिनुपर्छ ।’

प्रदेश सभा सदस्य दीर्घ सोडारीले चुरे संरक्षण गर्न नसकिएर तराई मरुभूमि बन्ने बताए । उनले हाल चुरेमा क्षति पुग्ने गरी धेरै सडक निर्माणको काम अगाडी बढेकाले यसले चुरेमा झन जोखिम बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.