खाेज्नुहाेस

हात्ती भगाउन रातभर जाग्राम

Image

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका स्थानीय हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् । भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि हात्ती भगाउन यहाँका स्थानीय रातभर जाग्राम बस्न थालेका हुन् । साँझपख आउने हात्तीको बथानले अन्न बालीमा नोक्सान पु¥याउने गरेको स्थानीय वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए ।

‘हात्तीको बथानले धानबाली र मकैमा ठूलो नोक्सान गरिसक्यो’ अध्यक्ष धनाडीले भने, ‘एक जनाको घरमा क्षति पुगेको अन्न बालीमा धेरै नोक्सान पु¥याएको छ ।’ रातिको समयमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट ३०÷३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेको उनले बताए ।

attariya hospital
navjiwan hospital

‘हात्ती भगाउन यहाँका स्थानीय आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्’, उनले भने, ‘यहाँका जनतालाई धेरै दुःख छ राज्यका तर्फबाट हात्ती रोकथामका लागि केही गर्न सकिएको छैन ।’ उनले हात्ती भगाउन यहाँ समूहमा युवाले रातिको समयमा गस्ती गर्ने गरेको बताए ।

स्थानीय लक्ष्मी रानाले हात्तीले हरेक वर्ष यहाँ घरखेतमा नोक्सान गर्ने गरेको बताए । ‘धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ’, उनले भने, ‘हात्तीकै कारण यहाँ खेतसमेत बाँझो हुन थालेको छ ।’ गाउँमा हात्तीका कारण स्थानीय त्रसित भएको उनले बताए । ‘यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न दिँदैन’, उनले भने, ‘हरेक वर्ष यहाँ भारतीय जंगलबाट हात्ती आउँछन् नोक्सान गरेर जान्छन् ।’

अहिले जंगल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको उनको भनाइ छ । यसैगरी हात्तीले वेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानकोे धानबालीमा नोक्सान पु-याउने गरेको छ ।

रासस