खाेज्नुहाेस

बैतडीमा पैँतालिस हजार ओखरका दाना रोपिए

Image

बैतडी – बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रको नर्सरीमा बिउका लागि ४५ हजार ओखरको दाना रोपिएका छन्। ओखरको बिजु बिरुवा उत्पादनका लागि दाना राख्ने कार्य सुरु भएको हो।

navjiwan hospital

विसं २०१९ मा स्थापना भएको सतबाँझ बागवानी कुनै बेला रेड डेलिसियस नामको स्याउका लागि प्रसिद्ध थियो। जलवायु परिवर्तनलगायतका कारणले रेड डेलिसियस स्याउ फल्न छाडेपछि बागवानीको नाम फेरी सुक्खा फलफूल विकास केन्द्र राखिएको जनाइएको छ। अहिले यहाँ हिउँदे फलफूलका बिरुवाको नर्सरी स्थापना गरिएको छ।

attariya hospital

सुक्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काका अनुसार भदौ महिनामा राखिएको ओखरको बिउबाट उत्पादन हुने बिरुवा डेढ वर्षपछि रोप्न मिल्ने हुन्छ। भदौमा राखिएको ओखरको बिरुवा आगामी वर्षको पुसमा बिक्री गर्न सकिने छ। यो वर्ष ६० हजार ओखरको दाना रोपेर बिरुवा उत्पादन गर्ने लक्ष रहेको छ। २५ हजार दाना ओखरको बिउ केही दिनपछि राख्ने तयारी छ। नर्सरीमा राखिएको ओखरको बिउमध्ये ४५ देखि ५० प्रतिशत मात्रै उम्रने गरेको प्राविधिक सहायक खड्काले बताउनुभयो। ६० हजार दाना ओखरको बिउ राखेमा बढीमा तिस हजार बोट मात्रै उत्पादन हुने बताइन्छ।

सुक्खा फलफूल विकास केन्द्रको नर्सरीमा ३० हजार ओखरका बिरुवा तयारी अवस्थामा छन् । गत वर्ष ३९ हजार बिरुवा बिक्री भएका थिए। सुक्खा फलफूल विकास केन्द्रले बर्सेनि फलफूलका बिरुवा उत्पादन गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सतबाँझ सुक्खा फलफूल विकास केन्द्रको २९ हेक्टर क्षेत्रफलमा ओखर, आरु, नासपाती, स्याउ, आरुबखडा, कागजी बदामलगायतका बिरुवा उत्पादन हुँदै आएका छन्।