काठमाडौं – भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । तमिलनाडुको मदुराई रेलवे स्टेसननजिकै रेलमा आगो लागेको हो ।

एक प्रत्यक्षदर्शीले बीबीसीको तमिल सेवालाई बताएअनुसार केही यात्रुले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको हो । मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० जनाभन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए । यी तीर्थयात्रीहरू शनिबार बिहान मदुराई पुगेका थिए ।

उनीहरूले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए । अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको जनाइएको छ ।


















