काठमाडौं – कोलम्बियाको दक्षिण–पश्चिमी क्षेत्रमा पर्ने काजिबिओ नगरपालिकास्थित प्यान–अमेरिकन राजमार्गमा शनिबार भएको बम विस्फोटमा परी कम्तीमा १४ जनाले ज्यान गुमाएका छन् । विस्फोटमा ३८ जना घाइते भएका छन् । घाइते हुनेमा पाँच बालबालिका समेत छन् ।

आउँदो मे ३१ मा हुने राष्ट्रपतीय निर्वाचनअघि भएको यो हिंसात्मक घटनाले देशको सुरक्षा व्यवस्थामाथि गम्भीर चुनौती खडा गरेको छ । आक्रमणकारीले पहिले एउटा बस र अर्को सवारी प्रयोग गरेर राजमार्गमा ट्राफिक अवरुद्ध गरेका थिए । त्यसपछि एक सिलिन्डर मिनिबसमा खसाल्दा भीषण विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटका कारण राजमार्गमा ठूलो खाडल परेको छ । धेरै सवारीसाधनमा क्षति पुगेको छ । गभर्नर अक्टाभियो गुजम्यानले सार्वजनिक गरेका तस्बिरमा सवारीसाधन पूर्ण रूपमा ध्वस्त भएको र घटनास्थलमा भयावह दृश्य देखिएको छ ।


















