खाेज्नुहाेस

कृष्णपुरमा गबारोले धानबालीमा क्षति

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो किराले क्षति पुर्याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो किराको प्रकोप देखिएको हो ।

कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो किराको प्रकोप देखिएको जानकारी दिए । ‘रोपेको धानबालीमा गबारो कीराले क्षति पुर्याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ’, उनले भने, ‘झण्डै एक सय किसानलाई विषादी वितरण गरेका छौँ, पालिकाको बजेट अभावले सबैलाई विषादी उपलब्ध गराउन सकिएको छैन ।’

attariya hospital

अधिकांश किसानको खेतमा गबारोले कीराले क्षति पुर्याएको र त्यसको निर्मूलका लागि विषादी प्रयोग गर्न कृषि अधिकृत धामीले सुझाव दिए । ‘पर्याप्त वर्षा नहुँदा सुक्खा भएपछि गोबारोको प्रकोप देखिएको हो’, उनले भने, ‘हामीले सबै वडामा पुगेर नमूना परीक्षण गरिरहेका छौँ ।’

navjiwan hospital

यस्तै शुक्लाफाँटा नगरपालिकाको सुक्खा क्षेत्रमा पनि गबारो कीराको प्रकोप देखिएको छ । शुक्लाफाँटा नगरपालिकाका कृषि प्राविधिक करनसिंह बुढाऐरले पालिकाको सुक्खा क्षेत्रमा खेतमा गबारो किराको प्रकोप देखिएको बताए । ‘गबारो कीरा देखियो भनेर किसान आउने क्रम बढेको छ’, उनले भने, ‘सुक्खा क्षेत्रमा धानबालीमा गबारो कीरा र धमिराको सङ्क्रमण देखिएको छ ।’

धान रोपेको महिना दिनमै गबारोको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी जनक सिंहले कञ्चनपुरका दुई पालिकामा मात्रै गबारो सङ्क्रमण देखिएको जानकारी दिए । ‘शुक्लाफाँटा र कृष्णपुरमा धानबालीमा गबारोको प्रकोप देखिएको छ’, उनले भने, ‘जिल्लाका अन्य क्षेत्रमा यसको प्रकोप देखिएको छैन ।’

कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टरमा धानखेती हुने गरेको सूचना अधिकारी सिंहले बताए । यहाँ आर्थिक वर्ष २०७७–७८ मा एक लाख ८९ हजार मेट्रिक टन तथा आव २०७८–७९ मा एक लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७९–८० मा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।

रासस