अत्तरिया– कैलालीको गोदावरी नगरपालका मातहत रहको अत्तरिया बसपार्कमा सवारी साधन प्रवेश गर्ने वित्तिकै पार्कीङ शुल्क तिर्नुपर्छ । नगरपालिकाले ठेक्का मार्फत पार्कीङ शुल्क उठाउँदै आएको छ । यस बर्ष पनि नगरपालिकाले बसपार्कबाट पार्कीङ शुल्क उठाउनको लागि १ करोड ३ लाख ५१ हजार १११ रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
नगरपालिकाले पार्कीङ शुल्क उठाएर बसपार्कबाट आम्दानी गरिरहेको भएपनि त्यसको मर्मतमा भने बेवास्ता गर्दै आएको छ । फलस्वरुप सवारी धनी हिलाम्मे बसपार्कमा सवारी पार्कीङ गरे वाफत शुल्क तिर्न बाध्य छन । सवारी चालक जगत भट्टले हिलाम्मे सडकमा बाध्य भएर पार्कीङ गर्नु परेको बताए । ‘अत्तरिया बजारमा अन्य ठाउँमा सवारी साधन रोक्न पाइदैन् ।
सवारी चढाउन, झार्न पनि बसपार्क भित्र गाडी हाल्नै पर्छ’ उनले भने ‘बसपार्कमा गाडी हालेपछि हिलोमा यात्रु ओराल्न, चढाउन पनि निकै समस्या हुने गरेको छ ।’ उनले बसपार्कमा हिलो हुन नदिन ग्राभेल सम्म गरिनुपर्ने बताए । बसपार्कमा पानी बेच्दै आएकी निर्मला बमले हिडडुल गर्न निकै समस्या हुने गरेको बताइन् ।
उनले बसपार्कमा एक कुना देखि अर्को कुनासम्म पुग्दा खुट्टा र लुगा पुरै फोहोर हुने गरेको बताइन् । ‘बसपार्कमा हिलोका कारण हिडडुल गर्न निकै समस्या छ’ उनले भनीन् ‘पानी परेपछि ठूलाठुला खाल्डामा पानी जम्मा हुन्छ । त्यसैमा गाडी चलिरहने भएकाले हिलो हुन्छ ।’ उनले पनि बसपार्कमा भएका खाल्डा पुरीनुपर्ने बताइन् । बैतडी जाँदै गरेका यात्रु नरेश विष्टले सुदूरपश्चिममै सबैभन्दा दुर्गती भएको बसपार्क अत्तरियामा देखेको बताए । उनले बसपार्कमा बसबाट ओर्लेर हिड्ने जस्तो पनि नभएको बताए । ‘बसमा चढ्नको लागि निकै सास्ती खेप्नुपर्ने अवस्था छ’ उनले भने ‘यसको सुधारका लागि यहाँको सरकारले ध्यान दिन आवश्यक छ ।’
उनले भिडभाड हुने बसपार्क जस्तो ठाउँलाई कम्तिमा हिडडुल गर्नको लागि सहज हुने बनाइनुपर्ने बताए । अत्तरिया बसपार्कको दिर्घकालिन समाधानका लागि कालोपत्रे गरिनुपर्ने भएपनि हाल सो जग्गा सेनाको मातहतमा भएकाले काम गर्न नसकिएको नगरपालिकाले जनाउँदै आएको छ । बसपार्कको जग्गा सेनाको मातहत हुँदा नगरपालिकाले ठेक्का लगाएर शुल्क उठाउन हुने तर, सामान्य मर्मत गर्न पनि नहुने तर्क उचित नभएको भन्दै स्थानीयले भने विरोध गर्दै आएका छन । कालोपत्रे नगरेपनि खाल्डा भएका ठाउँमा ग्राभेल सम्म हालिदिनुपर्ने स्थानीय रमेश नाथले बताए । उनले अत्तरिया बसपार्कको दुर्दशाले प्रदेशमै यस क्षेत्रको वदनाम भइरहेको बताए ।
यसअघि नगरपालिकाले सेनाको भोगचलन रहेको भन्दा दुर्गालक्ष्मी नमूना माविको अगाडी बसपार्क बनाउन लाखौं रकम खर्चेर भरान गरेको थियो । तर हाल उक्त क्षेत्र अलपत्र अवस्थामा रहेको छ ।
सो ठाउँमा हाल खोकाछाप्रा राखिएका छन । नगरपालिकाले बसपार्क निर्माण गर्नमा सेनाले अवरोध गर्ने गरेको बताएपनि बसपार्कमा टिकट काउन्टर घर, प्रतिक्षालय भने निर्माण गरेको छ । २०६० सालमा स्थापना भएको अत्तरिया बसपार्क सुरुमा व्यवस्थापन समिति मार्फत संचालित भएपनि २०७५ साउन १ गते देखि भने नगरपालिका मातहतमा संचालन हुँदै आएको छ ।