खाेज्नुहाेस

डडेलधुराका कबुलियत वनमा टिमुर खेती

Image

डडेल्धरा – डडेल्धुराको अमरगढी नगरपालिका–८ का विभिन्न पाँच वटा कबुलियत वन समूहमा व्यवसायी रूपमा टिमुर खेती सुरु गरिएको छ । डिभिजन वन कार्यालय डडेल्धुराको चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमअनुसार पाँच वटा कबुलियत वन समूहको कुल साढे १२ हेक्टर क्षेत्रफलमा १७ हजार टिमुरका बिरुवा रोपिएको हो ।

कबुलियत वन समूहमा आबद्ध उपभोक्ताहरूको आयआर्जन बढाउन र वन क्षेत्र संरक्षण सम्वद्र्धनका लागि व्यवसायी टिमुर खेती सुरु गरिएको डिभिजन वन कार्यालय डडेलधुराका डिभिजन वन अधिकृत राम विचारी ठाकुरले जानकारी दिए ।

attariya hospital
navjiwan hospital

टिमुर दाल र अचारमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाड जोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिन्छ । समुन्द्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार पाँच सय मिटर उचाइमा टिमुरको खेती उत्तम मानिने डिभिजन वन कार्यालय डडेलधुराका सहायक वन अधिकृत कृष्णबहादुर बोहराले बताए ।

पाँच वटै कबुलियत वन समूहका उपभोक्ताहरूलाई वन क्षेत्रको जमिन भागबन्डा गरेर टिमुर खेती सुरु गरिएको र आफूले टिमुर खेती गरेको क्षेत्रको टिमुर सम्बन्धित उपभोक्ता आफैले बेच्ने भएकाले उपभोक्ताहरूको आम्दानी वृद्र्धी हुने डिभिजन वन कार्यालयले जनाएको छ । बजारमा प्रति किलो ८ सय ५० रुपैयाँदेखि १ हजार रुपैयाँका दरले टिमुर बिक्री हुने गरेको डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष द्विजराज भट्टले बताए ।

राम्रो तरिकाले फलाउन सकेमा एउटा बोटमा चार किलोसम्म टिमुर फलाउन सकिने अमरगढी नगरपालिका – ८ का वडा अध्यक्ष नरबहादुर सीँकाले बताए । वृक्षारोपण गरिएको चार वर्षपछि टिमुर उत्पादन सुरु हुने स्थानीय बताउँछन् ।

टिमुर खेतीबाट वन क्षेत्रको संरक्षणसँगै उपभोक्ताहरूको आम्दानी वृद्र्धी हुने भएकाले जिल्लाका अन्य स्थानमा पनि कार्यक्रम विस्तार गर्न आवश्यक भएको सुदूरपश्चिम प्रदेश सभाका सांसद डा. ताराप्रसाद जोशीले बताए ।