खाेज्नुहाेस

जनता तर्साएर घर भत्काउनु अमानवीय कार्य हो : महर

Image

डडेल्धुरा– नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले वर्तमान सरकारले जनता तर्साएर घर भत्काउने अमानवीय कार्य रोक्नुपर्ने बताएका छन । शुक्रबार डडेल्धुरामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले देशका लागि जमिन र जनता उत्तिकै आश्यक भएपनि सरकार जनजीविका प्रति गैह्र संवेनशील देखिन थालेको बताए ।

एक अर्को प्रसंगमा नेता महरले संसद अधिवेशनबाट भागेर अध्यादेशमार्फत शासन चलाउने कुराले संसदको सर्बोच्चता माथि धावा बोल्न खोजेको आरोप लगाए । शक्ति सन्तुलनको अबधारणा बिपरित कार्यपालिकाबाट न्यायालयको परम्परा र स्वतन्त्रतामाथि अंकुश लगाउने खेलको शरुवात हुने र विधिको शासन धरापमा पर्ने हो कि भन्ने आशंका बढन थालेको महरको भनाई थियो ।

attariya hospital
navjiwan hospital

देशभरका लाखौ बचतकर्ताको पसिनाको कमाइ डुबेको सहकारी ठगी प्रकरणमा सरकार मूकदर्शक नबनेर छिटो छिटो समस्याको समाधान निकाल्नु पर्ने उनले बताए । चरम मूल्यवृद्धिले सर्वसाधारणको ढाड सेकेको र सुकुम्बासी बस्तीमा सुत्केरी महिलामाथि राज्यले गरेको अमानवीय व्यवहारले सरकारको असंवेदनशीलता छताछुल्ल भएको उनले बताए ।

राष्ट्रिय राजनीतिबाट गृहजिल्लाको विकासतर्फ केन्द्रित हुँदै नेता महरले आगामी आर्थिक वर्षको बजेटमा डडेल्धुराका ड्रिम प्रोजेक्टहरूलाई पहिलो प्राथमिकतामा राख्न तीनवटै तहका सरकारसँग माग गरे । उनले डडेल्धुरा विमानस्थलको निर्माण, मेडिकल कलेजको शीघ्र बिकास र पश्चिम सेती तथा पञ्चेश्वर जस्ता बहुउद्देश्यीय आयोजनाको द्रुत कार्यान्वयनमा जोड दिए । डडेल्धुरा जिल्लामा गत वर्ष विनियोजित मध्ये २ अर्ब बढी वजेट रकम काटिएकाले यसको फेरि बिनियोजन र आज सम्म डडेल्धुराका लागि छुट्याउदै आएको बजेटमा यो सरकारले कटौति गर्न नहुने महरले बताए ।

स्थानीय नागरिकका तत्कालीन समस्याहरूप्रति चिन्ता व्यक्त गर्दै उनले जिल्लाका ५२ वटै वडामा बाँदर र बँदेललगायतका वन्यजन्तुले मच्चाएको आतंक नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्ने बताए । साथै, ज्यानमारा बनेका ग्रामीण सडकको स्तरोन्नति, अस्पतालको व्यवस्थापन सुधार, जीर्ण खानेपानी आयोजनाको पुनर्निर्माण र युवा लक्षित प्राविधिक शिक्षाको विस्तार र डडेल्धराको कृषि – पर्यटन को बिकास गरेर युवा रोजगार सृजना गर्नु पर्नेमा उनले विशेष जोड दिए ।

नेपाली कांग्रेसको आन्तरिक राजनीतिबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा महरले आफू गुटबन्दीभन्दा माथि उठेर एकताबद्ध, गतिशील र रूपान्तरित कांग्रेस निर्माणको पक्षमा रहेको प्रष्ट पारे । उनले अबको कांग्रेस लोकतन्त्र, संसदीय सर्वोच्चता र प्रेस स्वतन्त्रताको रक्षामा थप खरो रूपमा उत्रिनुपर्ने बताए । अन्त्यमा, डडेल्धुराका जनता र सञ्चारकर्मीलाई निरन्तर साथका लागि धन्यवाद दिँदै नेता महरले आफू सधैं डडेल्धुरावासी र सिंहदरबारबीचको बलियो पुल बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।