अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा कोरोनाको समयमा ज्यानको बाजी दिएर खटिएका स्वास्थकर्मीलाई अहिले ‘घर न घाटका’ बनाइँदै छन । कोरोनाको समयमा स्वास्थ्यकर्मी अपुग भएपछि बढी जोखिम भएका ठाउँमा खटाइएका कर्मचारीलाई अहिले फाजिलका बनाएर सेवा सुविधा नदिएर आफ्नो व्यवस्था आफै गर्नुस भनेपछि ‘घर न घाटका’ बनेका हुन । कैलालीको गोदावरी नगरपालिकामा कोरोनाको समयमा स्वास्थ्यका कर्मचारी अपुग भएपछि बाहिरबाट कर्मचारी ल्याएर खटाइएको थियो । लोकसेवाबाट पास भएर सरकारी सेवामा कार्यरत रहेका भएपनि ति कर्मचारीलाई हाल फाजिलका नाममा सेवा सुविधाबाट बन्चित गरिन थालिएको छ ।
स्वास्थ्यका कर्मचारीले संघबाट तलब सुविधा पाउने गरेका छन । संघबाट हाल दरबन्दी अनुसार मात्रै रकम आउन थालेपछि ४० जना फाजिलका कर्मचारी अन्योलमा परेका छन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त कुमार खत्रीले चालु आर्थिक बर्षमा पनि फाजिलका कर्मचारीका लागि तलब सुविधा नआएको बताए । उनले चालु आर्थिक बर्षमा संघबाट स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि आएको डल्लो बजेटबाट तलब खुवाइएको भएपनि उक्त रकम चालु आर्थिक बर्षको लागि अपुग भएको बताए । उनले आगामी आर्थिक बर्षका लागि संघ सरकारबाट बजेट कटौती भएकाले फाजिलका कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था नरहेकाले कर्मचारीहरुलाई आ–आफ्नो व्यवस्था आफै गर्न भनेको बताए ।
उनले स्वास्थ्य मन्त्रालयले गोदावरी नगरपालिकामा विभिन्न मितिमा समायोजन÷समायोजन मिलान÷कामकाज गर्ने भनी आएका कर्मचारीहरुलाई नेपाल सरकारले आगामी आर्थीक बर्ष २०८०/८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने र आफैले आवश्यकता हेरी व्यवस्था गर्न पत्र पठाएको बताए ।
नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उक्त पत्रको जवाफ पठाउँदै फाजिलका कर्मचारीलाई आफ्नो व्यवस्था आफै गर्न कार्यपालिका बैठकबाट निर्णय भएर नगरसभाबाट समेत अनुमोदन भएको उल्लेख गरेको छ ।

पत्रमा भनीएको छ ‘आन्तरिक श्रोतमा पनि निक्कै कमी भएको हुँदा यस नगरपालिकाले पनि दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई तलब भत्ता खुवाउन नसक्ने भएकोले २०८० अषाढ मसान्तसम्म दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका कर्मचारीहरुले आफ्नो व्यवस्थापन आफै गरि यस नगरपालिकालाई सहयोग गर्नहुन भनी मिति २०८० अषाढ ६ गतेको कार्यपालिका बैठकवाट भएको निर्णयलाई यस गोदावरी नगरपालिकाको मिति २०८० अषाढ ११ गते बसेको १० औँ नगरसभाबाट समेत अनुमोदन भएकोले मिति २०८० श्रावण १ गते देखि लागू हुने दरबन्दी भन्दा बढी भएका तथा फाजिलमा रहेका स्वास्थ्य तर्फका कर्मचारीहरुलाई तबल, भत्ता खुवाउन नसकिने भएको हुँदा तहाँ मन्त्रालयमा उक्त कर्मचारीहरु फिर्ता पठाईएको व्यहोरा जानकारी साथ अनुरोध गरिन्छ ।’ पत्रमा फाजिलका कर्मचारीहरुको २०८० अषाढ मसान्तसम्मको तलब, भत्ता निकासा गरिदिनहुन पनि संघ सरकार संग अनुरोध गरिएको छ ।
६ महिनादेखि तलबविहिन
हाल गोदावरीमा फाजिलका कर्मचारीका लागि संघबाट बजेट नआउँदा फालिलका मात्रै नभएर दरबन्दिका कर्मचारी पनि ६ महिना देखि तलब विहिन बनेका छन । नगरपालिकाले स्वास्थ्य साखामा कार्यरत फाजिल लगायत कर्मचारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बजेट माग गरिएको भएपनि मन्त्रालयले दरवन्दिका कर्मचारीका लागि मात्रै तलब पठाएको थियो ।
तर, नगरपालिकाले दरबन्दिका कर्मचारीका लागि पठाएको तलब फाजिलका कर्मचारीलाई पनि वितरण गर्दा रकम अपुग भएर ६ महिना देखि स्वास्थ्यका सबै कर्मचारीहरुको तलब बिहिन बनेका छन । नगरपालिकामा फाजिलका ४० र दरबन्दीका ५२ कर्मचारी रहेको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । उनले नगरपालिकाले माग गरेको भन्दा ३ करोड २० लाख कम बजेट मन्त्रालयबाट आउँदा फाजिल सहितका कर्मचारीलाई तलब अपुग भएको बताए ।
यसअघि हरी सिह साउँद नेतृत्वको स्थानीय सरकारले नै विभिन्न मितिमा नगरबाट नै सेवा सुविधा दिने भनेर कर्मचारी ल्याएको भएपनि हाल नगरले तलब दिने अवस्था नरहेको वताएपछि उनीहरु अन्योलमा छन ।
समायोजन/समायोजन मिलान/कामकाज गर्ने भनी आएका कर्मचारीको व्यवस्थापनका लागि मन्त्रालयबाटै प्रक्रिया चलाउन आवश्यक रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए । उनले आवश्यक प्रक्रिया पु-याएर फाजिल कर्मचारीलाई दरबन्दी खाली ठाउँमा पठाउँदा समस्या सामाधान हुने बताए ।















