वर्षा सुरु भैसकेको छ । वर्षा सुरु भएसँगै किसानहरुले रोपाई गर्न पनि सुरु गरिसकेका छन । पछिल्लो केही दिन यता कैलालीमा वर्षाका कारण किसानहरुले रोपाईलाई तिब्रता दिन थालेका हुन । वर्षाकै समयमा रोपाई गर्दा गर्मी पनि नहुँने र पानिको समस्या पनि नहुँने भएकाले किसानहरुले प्रायजसो पानि परिरहेको बेला रोपाई गर्ने गर्दछन ।
तर रोपाई सुरु भैसक्दा समेत आवश्यक मात्रामा मल उपलब्ध नहुँदा किसानहरुले सास्ती बेहोर्नु परेको छ । रोपाईको समयमा चाहिने युरिया मल मात्रै नभई धान रोपिसकेपश्चात हालिने डिएपी मलको अभाव अझै पनि जिल्लामा छ । मलकै अभावका कारण भनेको समयमा किसानहरुले रोपाई गर्न पाईरहेका छैनन् ।


वर्षा शुरु भएसंँगै धान रोपाइँका लागि किसानले डिएपी, पोटास र युरिया मलको खोजीमा भाँैतारिए पनि पाउन सकिरहेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डिएपी र युरिया मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै जान थालेपछि किसान मार खेप्दै आएका छन् ।
नेपाललाई कृषि प्रधान देश भनिन्छ तर देश कृषिमा आत्मनिर्भर छैन । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दैछ तर अधिकांश कृषिजन्य वस्तुमा परनिर्भर छ । नेपाललाई कृषि प्रधान देशको नाम दिएपनि किसानले समयमा मल नपाउने, बिल विजन नपाउने तथा कृषि औजार तथा उपकरण समेत नपाउने अवस्था छ । जसले गर्दा कृषिजन्य वस्तुहरु विदेशबाट आयात गर्नुपर्ने बाध्यता नेपालमा छ । खेतीपातीको समयमा मल नपाएर किसान हैरान भएको समस्या त आम जस्तै भइसकेको छ ।
किसानलाई उचित रुपमा उपज उत्पादनका लागि समयमै रासायनिक मलको आवश्यकता पर्दछ । तर धानबालीमा मल हाल्ने समयमा समेत किसानले यूरिया मल पाएका छैनन् । यो देशव्यापी समस्या हो । किसानलाई आवश्यक परेका समयमा मल, विउविजन लगायतका कृषिजन्य सामग्रीहरुको सहज उपलब्धता भए धेरै हदसम्म कृषिजन्य वस्तुहरुको आयातमा कमी आउन सक्छ ।
सरकारले कृषिमा अनुदान दिने काम मात्रै नभई यस्ता अति आवश्यक वस्तुहरुको आपुर्तिमा पनि ध्यान दिन सक्नुपर्दछ । बिलम्ब नहुँने गरी किसानहरुले भनेको समयमा आवश्यकता अनुसार मल लगायतका कृषि सामग्रीहरुको उपलब्धतामा विशेष ध्यान दिईनुपर्दछ ।















