पछिल्लो समय कैलाली र कञ्चनपुर लागुऔषधको प्रयोग एवम् कारोबार तिब्र रुपमा बढ्दै गईरहेको छ । खुल्ला सिमानाका भएका कारण यि जिल्लाहरुमा दैनिक रुपमा लागुऔषध कारोबारीहरु तिब्र गतिमा फैलिरहेका छन । प्रहरीले पनि दैनिक करिब १० जना भन्दा बढीलाई लागुऔषध कारोबारमा संलग्न रहेको भन्दै पक्राउ गरिरहेको छ । प्रहरीको तथ्यांकले पनि यि दुई जिल्लाहरुमा लागुऔषधको कारोबार र प्रयोगमा तिब्रता आएको स्पष्ट पारेको छ ।
खुल्ला सिमानाकाको फाईदा उठाउदै छिमेकी मुलुक भारतबाट यहाँ लागुऔषध भित्र्याईने गरिएको छ । ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोर किशोरीदेखि युवाहरुको संख्या बढ्दै गएको छ । सीमावर्ती भारतीय बजारवाट ब्राउन सुगर लगायतका लागु पदार्थ ल्याएर बिक्री गर्ने गिरोह सक्रिय रहेको छ । लागुऔषधको कारोवार गर्ने गिरोहले किशोर किशोरी र यवायुवतीलाई बिक्री वितरण गर्ने गरेको छ । लागु पदार्थको कारोवारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरुको संलग्नता रहेको देखिएको छ ।


प्रहरीले लागुऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरेपनि कारोवार गर्ने मुख्य गिरोहका व्यक्तिहरुलाई समातेर कारवाही गर्न सकेको छैन । लागुऔषधको कारोबार गर्ने मेन गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । युवायुवती र किशोरकिशोरीहरु लागुऔषधको सिकार भैरहेका छन । भारतका सीमावर्ती शहरबाट ब्राउन सुगर लगायतका लागु पदार्थ बोकेर ल्याउने र प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन् । लागु पदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने कलिला किशोर किशोरीदेखि कलेज पढ्ने विद्यार्थीलाई समेत लतमा पारेर बिक्री गर्ने गरेका छन् । खुल्लम खुला लागु पदार्थको बढ्दो प्रयोगले विद्यालय पढ्नेदेखि कलेजका विद्यार्थी र युवाहरु दुव्र्यसनीमा फसेर बर्वाद हुने गरेका छन ।
भुसको आगो जस्तै डरलाग्दो गरि किशोर किशोरी र युवाहरुमा फैलिरहेको लागुऔषधको प्रयोग चिन्ताको बिषय बनेको छ । लागुऔषधको प्रयोगले अनैतिक क्रियाकलाप गर्ने, हत्या हिंसा लगायतका अपराधीक गतिविधिहरुमा संलग्न हुने लगायतका नराम्रा कार्यहरुतिर युवायुवतीहरु बढी ध्यान दिन थालेका छन । लागुऔषध प्रयोग गर्ने युवाहरुकै कारण हत्या, लुटपाट, चोरी, डकैती जस्ता अपराधका घटना बढ्दै गएका छन् । आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरु जस्तोसुकै अपराध गर्न पनि पछि पर्दैनन् ।
देशका मेरुदण्ड, देश विकासका आधारहरुको अवस्थाले भविष्यमा देश कहाँ पुग्छ भन्ने कुराको सन्देश दिईरहेको छ । यस्ता क्रियाकलापहरुबाट युवायुवती र किशोरकिशोरीहरुलाई टाढा राख्न अभिभावकले मुख्य भुमिका निर्वाह गर्न आवश्यक देखिन्छ । अभिभावक जिम्मेवार बन्दा युवायुवतीहरुले लागुऔषधमा फस्ने अवस्था आउदैन । अभिभावकसँगै विद्यालयमा सचेतना हुनुपर्ने र सीमामा कडाई गरेर लागुऔषधमा संलग्नलाई कडाकारवाही गरिनुपर्ने देखिएको छ । यसलाई नियन्त्रण गर्न सरोकारवाला सबैले गम्भिर भएर लाग्नु जरुरी रहेको छ ।















