प्रतिक्षालय मुख्य गरी यात्रुहरु बस्नका लागि बनाइएको हुन्छ । यात्रुहरुलाई सवारी साधनको पर्खाइमा बस्न होस वा आवत जावतको बेला केही समय आराम गर्न होस प्रतिक्षालय निर्माण गरिन्छ । कैलालीको अत्तरिया बसपार्कमा निर्माण गरिएको प्रतिक्षालय पनि यात्रुहरुको सहजताका लागि निर्माण गरिएको थियो ।

तर, पछिल्लो केही समय यता उक्त प्रतिक्षालयमा यात्रुहरु भन्दा पनि मोटरसाईकलहरुको पार्किङ बढी भैरहेको छ । यात्रुहरुका लागि निर्माण गरिएको प्रतिक्षालयमा यात्रुहरुलाई नै असहजता हुने गरी मोटरसाइकलहरु पार्किङ गरेर राख्ने गरिएको छ । मोटरसाइकलका कारण यात्रुहरुले वर्खाको प्रचण्ड गर्मिमा समेत बसपार्क बाहिर बस्नुपर्ने बाध्यता छ ।

यात्रुलाई बस्नको लागि निर्माण गरिएको प्रतिक्षालमा मोटरसाइकल थुपारिएका छन । गर्मीका कारण मोटरसाईकल छाँयामा राख्ने लालचाका कारण यात्रुहरुको मर्काका बावजुद काउन्टरमा काम गर्ने कर्मचारीहरुले प्रतिक्षालयलाई पार्किङ स्थल बनाएका छन । पानी सहितको व्यवस्था गरिएको उक्त प्रतिक्षालयमा मानिसहरुको घुँइचो लाग्ने गरेपनि मोटसाइकलहरुको पार्किङ्गका कारण बस्नलाई समस्या हुने गरेको यात्रुहरुले बताउने गरेका छन । प्रतिक्षालयमा मोटरसाइकल पार्कीङ गरिदा यात्रुलाई असहज मात्रै भएको छैन प्रतिक्षालय कुरुप पनि बनेको छ ।
मोटरसाइकललाई घामबाट जोगाउनका लागि यात्रुहरुलाई घाममा बस्न बाध्य बनाईएको भएपनि सरोकारवाला निकायले भने यात्रुहरुको पीडा बुझ्न सकेको छैन । उक्त यात्रु प्रतिक्षालय २०६९ सालमा तेघरीका जगन्नाथ रोकाया र जय बहादुर रोकायाले निर्माण गरेका हुन् । बसपार्कमा अधिकांस टिकट काउन्टरमा काम गर्नेहरुले नै मोटरसाइकल पार्कीङ गर्ने गरेका छन । यात्रुहरुको असहजताका बारेमा जानकार सरोकारवाला निकायले पनि प्रतिक्षालयमा पार्किङ्ग गर्ने कार्यमा नियन्त्रण गर्न सकेको छैन ।
बसपार्कमै रहेको ईलाका प्रहरी कार्यालयको प्रहरी बिट र बसपार्कमा खटिएका ट्राफिक प्रहरीहरुले पनि उक्त विषयतर्फ ध्यान दिएका छैनन् । नगरपालिका मातहत रहेको उक्त बसपार्कको हरेक गतिविधिको बारेमा नगरपालिकाले विशेष निगरानी राख्न आवश्यक छ ।
हाल ठेक्का प्रकृयामार्फत ठेकेदार कम्पनीलाई दिईएको भएपनि नगरपालिकाले अनुगमन अवलोकन गर्ने कार्य गर्नुपर्दछ । यात्रुहरुको सहजताका लागि निर्माण गरिएको प्रतिक्षालयमा गरिने पार्किङ हटाई त्यसलाई यात्रुमैत्री बनाउने तिर सक्रियता देखाईनुपर्दछ । त्यसको उचित व्यवस्थापन तिर सरोकारवाला निकायले ध्यान दिनुपर्दछ ।