पुनः जनतालाई रनभुल्लमा पारिदैं

अत्तरिया – सुदूरपश्चिमका जनता अहिले पनि कुनै ठूलो दुर्घटनामा पर्दा होस् या बिरामी, उपचारका लागि नेपालगंज, काठमाण्डौं र भारतका गल्ली चहार्नुपर्ने अवस्था कायमै छ । जुन बाध्यताबाट मुक्ती पाउन कैलालीको गेटामा प्रस्तावित मेडिकल कलेजका नाममा भौतिक संरचना निर्माणको काम अगाडी बढ्यो । जुन काम हाल अन्तिम चरणमा पुगेको छ । तर, स्वास्थ्य सेवाका लागि निर्माण गरिएका भौतिक संरचना देखेर हर्सित यस क्षेत्रका जनता ति संरचना प्रयोगका बिषयमा राज्यको ढुलुमुले नीतिका कारण भने निरास छन् ।

maya metro hospital

बिना मोडालिटी भौतिक संरचना निर्माण गरिएपछि कसरी संचालन गर्ने भन्ने बहस हुनु सामान्य थियो । तर, यहाँ अहिले राज्यले नै कहिले विश्वविद्यालय, कहिले प्रतिष्ठान बनाउने भनेर जनतालाई रनभुल्लमा पार्ने काम गरिरहेको छ ।

joshi vada pasal 2

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेको बजेटको बुँदा नम्बर २४२ मा गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने उल्लेख छ । जसमा गेटा अस्पताललाई एकसय शैय्याको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिने भनिएको छ ।

जबकि वर्तमान सरकारले २०७९ माघ २९ मा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पनि गत फागुन १ मा भएको सुदूरपश्चिम भ्रमणमा पनि गेटामा विश्वविद्यालय हुने बताएका थिए । तर, बजेटमा भने प्रतिष्ठान सञ्चालन गर्ने कुराले फेरी यस क्षेत्रका जनतालाई रनभुल्लमा पार्ने प्रयास भएको छ ।

जसको विरोधमा अहिले सुदूरपश्चिमा आन्दोलनका कार्यक्रम सुरु भएका छन । जसमा राजनीतिक आग्रह पुर्वाग्रह पनि मिसाउने प्रयास गरिदा झन यो समस्यालाई गिजोल्ने प्रयास गरिन थालेको छ ।

गेटामा स्वास्थ्य विश्वविद्यालय हुनेपर्ने वकालत गर्दै यस क्षेत्रमा आन्दोलनको संयोजन गरिरहेका लोक राज पाण्डेले सरकारले सुदूरपश्चिममा पटक–पटक गरेको अन्यायका विरुद्धमा आफूहरु अब सडकमै आएको बताए । उनले गेटामा जुनसुकै हालतमा पनि अब मेडिकल विश्वविद्यालय संचालन गरिनुपर्ने बताए ।

शहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सह संयोजक आनन्द भट्टले राज्यले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गरेर पटक पटक धोका दिने काम गरेको बताए । उनले गेटामा विश्वविद्यालय बनाउने भनेर निर्णय गरिसक्दा पनि बजेटमा कसको इसारामा १ सय सय्याको मेडिकल चलाउने निर्णय गरियो भनेर प्रश्न गरे ।

उनले राज्यबाट हुने यस किसिमको धोक अब सहेर नबस्ने बताए । ‘सुदूरपश्चिमलेली राज्यलाई आवश्यक परेका बेला रगत दिन तयार छन । तर, यस क्षेत्रका जनताले सरकारबाट धोका मात्रै पाएका छन । अब हामी चुप लागेर बस्नेबाला छैनौ’ उनले भने ‘मेडिकल माफियाका कुरा सुनेर सुदूरपश्चिमका जनताका सपनामाथि तुसाराघात गर्न पाइदैन ।’

संघर्ष समितिका सचिव धर्म सिह कुँवरले सरकारको पछिल्लो कदमको विरोध गर्दै बिहिबार अत्तरियामा १ घण्टा चक्काजाँम गरिएको बताए । उनले माग पुरा नभए सम्मको लागि आन्दोलनका कार्यक्रम जारी रहने बताए ।

कहिले विश्वविद्यालय कहिले प्रतिष्ठान बनाउने भनेर सरकारले नै बोली फेरिरहदा यस क्षेत्रका जनताका बीचमा पनि दरार उत्पन गर्ने प्रयास हुन थालेको छ । जसले गर्दा गेटामा अझै स्वास्थ्य सेवा, मेडिकल शिक्षणका लागि कति कुर्नु पर्ने हो भन्ने अनिश्चित बन्ने संकेत देखिन थालेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.