नेपाल कृषि प्रधान देश भएपनि निरन्तर अर्बाैका खाद्यान्न सामग्रीहरु विदेशबाट आयात गरिरहेको छ । नेपालको माटोलाई कृषिजन्य वस्तुहरु उब्जाउका लागी एकदमै उपयुक्त मानिन्छ । देशको तराई फाँटमा उब्जनी हुने खाद्यान्नकै कारण पहाडी र हिमाली क्षेत्रमा नागरिकहरुलाई भोकमरीबाट बचाउन सकिने अवस्था छ । तर कृषिक्षेत्रमा उत्पादन कम हुँदा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

कृषि क्षेत्रमा लागेका किसानहरुले उब्जाउ गरेको बस्तुको मुल्य नपाउने, बजारको समस्या हुने लगायतका कारणले विस्तारै कृषि काम गर्ने कृषकहरु विदेश पलायन हुदै गईरहेका छन । जसले देशको कृषि उत्पादनको मात्रा घटाईरहेको छ । कृषकहरुलाई स्वदेशमै रोकी कृषि क्षेत्रको विकास गर्ने लक्ष्यका साथ सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भएपनि ति कार्यक्रमहरुको नियमितता र पारदर्शिता नहुँदा त्यस्ता कार्यक्रमहरुमा लगाईएको लगानी खेर गैरहेको छ ।


कृषि उत्पादनका लागी उपयुक्त स्थान भएपनि आवश्यक भौतिक पुर्वाधार, कृषिजन्य यन्त्र, बजार आदीको समस्याका कारण अहिले कृषि कर्म गर्ने वास्तविक किसानहरुले पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । सरकारले लगाएको लगानी वास्तविक किसानसम्म पुग्न पाईरहेको छैन ।
त्यसमा पनि किसानहरुलाई दिईएको सहयोग पश्चातको उपलब्धीका बारेमा जानकारी लिने काम सरकारले गर्न सकेको छैन । जसले गर्दा लगानी लगाईएको स्थानबाट समेत लगानी अनुसारको प्रतिफल पाईएको अवस्था छैन ।
कैलालीको गोदावरी नगरपालिकामै पनि सरकारले मुख्यमन्त्री नमुना कृषि कार्यक्रम सञ्चालन गरेको छ । तर उक्त कार्यक्रममा आवद्ध किसानहरुले उत्पादन गरेका बस्तुहरु बजारीकरणको अभावका कारण विक्रिमा समस्या भोग्दै आईरहेका छन । सरकारले ‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने नाराका साथ विगत ३ बर्षदेखि सो गोदावरीका वडा नं. ६ र ७ मा उक्त कार्यक्रम संचालन गरिरहेको छ । तर नारा अनुसारको पूर्ण रुपमा सार्थकता भने पाउन भने सकेको छैन् ।
त्यसैले सरकारले वास्तविक किसानको पहिचान गरि कृषकहरुका समस्या सम्बोधन गर्ने काममा पछि पर्नुहुदैन । किसानहरुलाई आवश्यक पर्ने कुराहरुमा सहजीकरण गरी कृषि क्षेत्रको प्रर्वद्धन गर्न सके मात्रै देश नारा अनुसार कृषिमा आत्मनिर्भर बन्न सक्नेछ । कृषिलाई नारामै मात्र सिमित नराखी कृषि क्षेत्रको विकास र कृषकहरुका समस्या समाधानमा सरोकारवाला निकायले तदारुकता देखाउनु आवश्यक छ ।
