कैलालीको गोदावरी नगरपालिकाले वडास्तरबाट योजनाहरु माग गर्ने काम गरिरहेको छ । नगरले १२ वटै वडामा टोल भेला मार्फत योजनाहरु माग गरिरहेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैशाख मसान्त सम्म चोक/टोल/बस्ती स्तरबाट आयोजना र कार्यक्रमको छनौट गर्नुपर्ने प्रावधान रहेको छ । सो अनुसार नै नगरपालिकाले टोल तथा बस्तीहरुमा भेला आयोजना गरी आवश्यक योजनाहरु माग गरिरहेको छ ।
वडाहरुले टोल भेला आयोजना गरी कार्यतालिका बनाएर वडाका सबै टोलहरुबाट योजनाहरु माग गरिरहेका छन । वडाहरुले मात्रै नभई नगरपालिकाले पनि वडाभेला आयोजना गरी वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने गरी तयारी थालिसकेको छ ।
नयाँ आर्थिक वर्ष आउने समय भैसकेकाले आर्थिक वर्षको पुर्वसन्ध्यामा टोल टोलमा आवश्यक पर्ने योजनाहरुका लागी भेलाहरु आयोजना गर्न लागिएका हुन ।
स्थानीय सरकारको दोस्रो कार्यकाल भएपनि सुरुवाती वर्षहरुमा स्थानीय सरकार सञ्चालन ऐन सम्बन्धी अनविज्ञता हुदाँ नागरिकका अपेक्षा अनुसारका कामहरु हुन सकेका थिएनन् । गाउँ गाउँमा सिंहदरबारको नारा लागिरहेको भएपनि दुर्गम बस्तीका नागरिकहरु अझै पनि राम्रोसँग औषधीमुलो पाईरहेका छैनन्, राम्रो सँग पढ्न पाईरहेका छैनन् । बजारको झिलिमिली दुर्गममा पुग्न सकेको छैन ।
गोदावरीकै पनि धेरै जसो वडाका टोलहरु हालसम्म पनि सो समस्याले ग्रस्त छन । स्थानीय सरकारको दोस्रो कार्यकाल पुगिसक्दा सडक ग्राभेल तथा कल्भर्ट निर्माण लगायतका योजनाहरु मात्रै पर्ने गरेका देखिएका छन ।
नागरिकलाई अति आवश्यक पर्ने कुराहरुमा अझै पनि स्थानीय सरकारको ध्यान पुग्न सकेको छैन । पछिल्लो ५ वर्षे कार्यकालमा धेरै जसो भौतिक प्रगती अथवा भनौ भौतिक विकासका कामहरु गरिए पनि दुरदराजमा रहेका समस्याग्रस्त नागरिक समक्ष स्थानिय सरकार पुग्न सकेको छैन ।
सदा जस्तै आउँदो वर्षका लागी पनि सोही निति अनुसार योजना छनौट गर्ने काम गरिनुहुदैन । अति आवश्यक पर्ने स्थानमा योजनाहरु दिने तथा त्यस्ता स्थानहरुमा बन्ने योजनाहरुको गुणस्तरमा ध्यान दिने कार्यतिर पनि स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।
पछिल्लो समय कार्यकर्ता मैत्री तथा भ्रष्ट्राचारमा लिप्त बनेको आरोप लागिरहेको अवस्थामा स्थानीय सरकारले नगरका दुरदराजमा रहेका नागरिकको आवश्यकता अनुसारका योजनाहरुलाई पहिलो प्राथमिकता दिनु जरुरी छ । भौतिक प्रगतीलाई मात्रै विकासको रुपमा नहेरी मानिसलाई अति आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, विजुलीवत्ती लगायतका कुराहरु परिपुर्ति गर्ने तिर ध्यान दिईनुपर्दछ ।
नागरिकलाई स्थानीय सरकार भएको आभास दिलाउन पनि नागरिकको अपेक्षा अनुसारका कार्यतिर अग्रसर बन्न जरुरी छ । त्यसका लागी नगरपालिकाले निर्माण गर्ने निति तथा कार्यक्रमहरु नागरिकमैत्री बन्न आवश्यक छ ।