कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ चौकिडाँडा सामुदायिक वनक्षेत्रमा टहरा बनाएर बसिरहेका सुकुम्बासीहरुको टहरा भत्काईए । त्यसको केही दिन पछि नगरपालिकाकै वडा नं. १ मा रहेको सुरक्षा महिला सामुदायिक वनक्षेत्रमा नेपाली कांग्रेसले वीपी स्मृति भवनको शिलान्यास ग¥यो । कांग्रेसले वीपी स्मृति भवनको शिलान्यास गरेसँगै अत्तरिया क्षेत्रमा सुकुम्बासी माथिको राजनीति सुरु भएको छ । सुकुम्बासीलाई हटाएर कांग्रेसले पार्टी कार्यालय बनाउन थालेको आरोप कांग्रेसलाई लागेको छ भने कांग्रेसका नेता कार्यकर्ताहरुले सुकुम्बासीको नाममा वीपी स्मृति भवनलाई दाज्न खोजेको भन्दै प्रत्यारोप गर्दै आएको छ ।

विगत केही वर्षदेखि पुर्वपश्चिम राजमार्ग किनारमा बस्दै आएको सुकुम्बासीहरुलाई डिभिजन वन कार्यालयले नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा हटाएको थियो । सडक किनारमा निर्माण गरिएका करिब साढे ५ सय टहरा भत्काईएको थियो । उक्त कार्य गलत भएको भन्दै कतिपय नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विरोध गर्दै आएका छन । उनिहरुले वास्तविक सुकुम्बासीको पहिचान गरेर व्यवस्थापन नगरी हटाउनु गलत भएको बताउदै आएका छन । उक्त क्षेत्रबाट हटाईएका सुकुम्बासीहरुमध्ये करिब १५ परिवार अझै पनि उक्त क्षेत्रमा पाल टाँगेर बस्दै आएका छन । तर नेपाली कांग्रेसले वीपी स्मृति भवनको शिलान्यास गरेपछि सामाजिक सञ्जालमा सुकुम्बासीका नाममा नेताहरुको दोहोरी नै चल्न थालेको छ ।

कांग्रेस, एमाले लगायतका पार्टीका नेता कार्यकर्ताहरुले एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेपनि सुकुम्बासीहरुको बारेमा भने कसैले सोचेको छैन । सुकुम्बासीका नाममा राजनीति गरिरहेका नेता कार्यकर्ताहरुले हाल सुकुम्बासीको अवस्था कस्तो छ भन्ने बारेमा समेत जानकारी लिएका छैनन् । सुकुम्बासीको उचित व्यवस्थापन गरी टहरा हटाउनुपर्ने विषय एकदमै उपयुक्त भएपनि सो कुरालाई लिएर सामाजिक सञ्जालमा विवाद गर्नुको भने कुनै तुक छैन । सामाजिक सञ्जालमा महान कुरा गर्ने नेता कार्यकर्ताहरुले गलतका विषयमा प्रत्यक्ष विरोध जनाउन सक्नुपर्दछ । सामाजिक सञ्जालको विरोधले मात्रै समस्याको समाधान हुन सक्दैन ।

त्यसैले सुकुम्बासीहरुको पहिचान गरी व्यवस्थापन गर्ने र कांग्रेसको शिलान्यासको विषयमा सम्बन्धीत निकायलाई झकझक्याउदा मात्रै समस्या समाधान गर्न सकिन्छ । अन्यथा सुकुम्बासीको बारेमा चिन्तित छु भन्ने देखाउने खालको सामाजिक सञ्जालको स्टाटसको अर्थ रहदैन । त्यसैले सुकूम्बासीको नाममा राजनीति गर्न बन्द गरौं । उनिहरुको हक अधिकारका विषयमा आवाज उठाउन तिर ध्यान दिऔं ।