अत्तरिया – चौकीडाँडामा वादी समुदायका टहरा भत्काएपछि उनीहरु पालमुनी बस्न थालेका छन । डिभिजन वन कार्यालय धनगढीले विगत ७ बर्षदेखि वादी समुदाय बस्दै आएका टहरा भत्काएपछि उनीहरु पुनः सोही क्षेत्रमा पाल टागेर बस्न थालेका हुन ।

सोमबार वन कार्यालयले गोदावरी नगरपालिका – ३ चौकीडाँडामा राजमार्ग किनारामा बस्दै आएका सुकुम्बासी र वादी समुदायका टहरा डोजर चलाएर भत्काएको थियो । सो क्षेत्रमा करिब ३५ परिवार वादी समुदाय लामो समय देखि बस्दै आएका भएपनि सोही ठाउँमा पहाडी जिल्लाबाट आएका सुकुम्बासी पनि बस्नको लागि टहरा बनाउन थालेपछि वनले डोजर चलाएको थियो । सो क्रममा करिब ५ सय टहरा भत्काइएको थियो ।

जसको चपेटामा लामो समय देखि सडक किनारामा बस्दै आएका वादीहरु पनि परेका थिए । टहरा भत्काइएपछि पहाडी जिल्लाबाट आएका सुकुम्बासीहरु त्यहाबाट फर्किसकेका भएपनि करिब १५ परिवार वादी भने टहरा भत्काएकै ठाउँमा पुनः पाल टागेर बसेका छन ।
स्थानीय मिठ्ठु वादीले अन्त्य जाने ठाउँ नभएपछि पुनः यसै ठाउँमा पाल टागेर बस्न बाध्य भएको बताइन् । उनले सरकारले नै विगतमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बस्न सहमति जनाएको भएपनि अहिले एक्कासी टहरा भत्काइदाँ आफूहरु समस्यामा परेको बताइन् ।

‘सरकारले व्यवस्थापन नभएसम्मका लागि हामीलाई यसै क्षेत्रमा पानीको पनि व्यवस्था गरिदियो । छानोमा हाल्नको लागि टिन पनि दिएको थियो’ उनले भनीन् ‘अब सरकारले हामीलाई जुनसुकै ठाउँमा भएपनि उचित आवासको व्यवस्थापन गर्नुपर्छ । हामीलाई सरकारले जहाँ पठाउन्छ त्यही जान हामी तयार छौ ।’ उनले केही वादी परिवारको चौकिडाँडामा २/४ धुर जग्गा भएपनि अधिकासं बादी समुदाय जग्गा विहिन भएको बताइन् । उनले धेरै भूमिहिन वादी समुदायका मानिस भारतमा मजदुरी गर्ने गरेको वताइन् ।
स्थानीय भरत बहादुर वादीले आफूहरु चौकिडाँडा क्षेत्रमा २०४३ सालदेखि नै बस्दै आएको बताए । उनले पहिले वादी समुदायको नाममा २÷४ धुर जग्गा भएपनि पछि परिवारको संख्या बढेपछि आवासको समस्या हुँदा सडकमा आएको बताए ।
‘वादी समुदयमा पहिले मागेर खाने चलन भएकाले कोही भारत, कोही पहाडमा गए’ उनले भने ‘अहिले समय फेरिएको छ । सबैमा काम गरेर खाने सोचको विकास भएको छ । तर, यही बसेर काम गरेर खाउँ भन्नेको लागि बस्नकै समस्या छ ।’ अहिले भूमिहिन बनेका वादी परिवारलाई सरकारले कहि न नहि आवासको व्यवस्था गरिदिए सहज हुने उनले बताए । उनले हाल बस्ने ठाउँ पनि कतै नभएको र, पाल पनि हटाउने धम्की आउन थालेपछि आफूहरु त्रसित भएको बताए ।
स्थानीय निसा वादीले सडक किनारमा भएको टहरा पनि भत्काएपछि आवासका लागि निकै समस्या भएको बताइन् । उनले आफू संस्थाको सहयोगमा काठमाण्डौंमा पढ्दै आएको भएपनि अहिले घरमा आमा बिरामी हुँदा पढाइ छोडेर घरमा बस्नु परेको बताइन् । उनले वादी समुदायलाई अरु सुविधा नदिएपनि बस्नको लागि दिनुपर्ने बताइन् ।
सम्बन्धित समाचार : हुकुम्बासीको पछि लाग्दा सुकुम्बासीको विचल्ली
