हुकुम्बासीको पछि लाग्दा सुकुम्बासीको विचल्ली

अत्तरिया – ४ दिन अगाडी मात्रै बाँसका खामा गाढेर सडक किनारामा टहरा बनाएकी देवु गहतराज सोमबार विहान भात पकाउँदै थिइन् । प्लास्टिकको छानो हालेर टहरा बनाएकी उनले आगनमा चुलो लगाएर बालेको आगोमा भात उम्लिदै थियो ।

maya metro hospital

joshi vada pasal 2

कैलालीको गोदावरी नगरपालिका – ३ चौकीडाँडामा राजमार्ग किनारामा रहेको उनको यो टहरामा भात पाक्दै गर्दा एक्कासी मानिसहरुले घेरा हाले । भिडमा आएका मानिसहरुले यो ठाउँमा किन आएको ? कसरी आएको ? कहिलेदेखि आएको ? कसले यहाँ ल्याएको ? जस्ता प्रश्न देवुको अगाडी तेस्र्याउन लागे । देवुले सबैको प्रश्नको जवाफ दिने प्रयास गरेपनि उनलाई डोटीबाट कैलालीमा जग्गा पाइन्छ भनेर यहाँ बोलाउने मान्छेको नाम भन्ने खुलाउन चाहिनन् । दिपायल सिलगढी नगरपालिका – ४ मा रहेको नगर विकासको जग्गामा बस्दै आएकी उनले पहाडमा आफ्नो जग्गा नभएको बताइन् । ‘जग्गा नभएका कारण हामी नगर विकासको जग्गामा बस्दै आएका थियौ’ उनले भनीन ‘जग्गा नभएकालाई तराइमा जग्गा पाइदै छ भनेर सुनेपछि आफू यहाँ आएकी हुँ ।’

यतिकैमा सो ठाउँमा डिभिजन वन कार्यालय धनगढीको टोली पुग्यो । एक छिन टहरा हटाउँन सूचना दिएर वनको टोलीले देवुको भात नउम्लिदै टहरो तहसनहस पारिदियो । तराइमा जग्गा पाउने हल्लाका पछि लागेकी देवुलाई डोटीमै हुँदा जग्गा पाइन्छ भनेर ५ सयको फाराम भराइएको थियो । त्यसपछि उनी ५ हजार ऋण निकालेर तराइ झरिन् । जसमध्ये २ हजार उनले हटरा निर्माणमा खर्च गरिसकेकी थिइन् । ‘२ छोरा भारतमा छन । तर, उनीहरुले हेर्दैनन्’ रुदै देवुले भनीन् ‘अब फर्केर पहाड जान पनि पैसा छैन् । हाम्रो बिचल्ली भयो ।’

उनी संगै तराइ भरेकी ऐना देवी सुनारले पनि जग्गा पाउने आशा देखाएर विचल्ली पारिएको बताइन् । उनले डोटीमा नगरविकासको जग्गामा महिनाको ५ सय भाडा तिरेर बसेकाले यहाँ जग्गा पाइन्छकी भन्ने आशामा आएको बताइन् ।

उनले वडा कार्यालयले पनि बैसाख १३ गते आफू सुकुम्बासी भएको कागज बनाइदिएको बताइन् । सोही कागज बोकेर तराइ झरेकी उनी पनि अब पहाडमै फर्किने बताइन् ।

चौकीडाँडामा राजमार्ग किनारामा करिब ५० परिवार ३ बर्षदेखि सडक किनारामा बस्दै आएका भएपनि सुकुम्बासीलाई सरकारले तराइमा जग्गा दिने भनेर सुकुम्बासीका नाममा हुकुम्बासी बनेकाहरुको फन्दामा परेर पछिल्लो २ महिना यता सो क्षेत्रमा करिव ५ सय परिवारले टहरा निर्माण गरेका थिए ।

उनीहरुको हक अधिकारका लागि लड्ने भन्दै सुदुरपश्चिम भुमिहिन संघर्ष समिति गठन गरेर सुकुम्बासी नेताहरुले प्रति परिवार ५ सयका दरले रकम पनि संकलन गरेका थिए । तर, टहरा भत्काउँदा भने उनीहरु कोही पनि देखा परेनन् । सडक र वन क्षेत्रमा निर्माण गरेका ति टहरा सोमबार वन कार्यालयले २ वटा जेसिवि लगाएर भत्काएपछि पहाडबाट तराई झरेका उनीहरु बिचल्लीमा परेका थिए ।

सोमबार वन कार्यालयले सो क्षेत्रमा सुकुम्बासीका नाममा वन अतिक्रमण भएको भन्दै प्रहरी र स्थानीयको सहयोगमा टहरा भत्काएको थियो । डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम प्रसाद ढकालले स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर अतिक्रमण हटाउने काम गरिएको बताए । टहरा भत्काउन खोज्दा अवरोध गर्ने ३ जनालाई नियन्त्रणमा पनि लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.