अत्तरिया – ११ वर्ष सरकारी जागिरमार्फत सेवा गरेका लालबहादुर अहिले भंैसी पालन गरिरहेका छन । कैलालीको गोदावरी नगरपालिका वडा नं. २ तेघरीमा भैसी फर्म सञ्चालन गरी उनले जिविकोपार्जन गर्दै आईरहेका छन । तत्कालिन गाउँविकास समिति र त्यसपछि नगरपालिकामा गरी ११ वर्ष ओभरसियरको जागिर गरेका लालबहादुर कडायतले उक्त जागिर छोडेर भैंसी पालिरहेका हुन ।

‘जागिर गर्दा स्थानीय तहमा आएका नयाँ जनप्रतिनिधिहरुले राजनीतिक दाउपेच सुरु गरे’ उनले भने ‘वाक्क लागेपछि जागिर छोडेर भंैसीपालन सुरु गरेको हुँ ।’ डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ८ लडागडामा २०३१ सालमा जन्मिएका उनको बाल्यकाल डोटीमै वित्यो । पढाईका साथसाथै एनजिओमा जागिर गर्ने अवसर उनलाई त्यसवखत नै मिल्यो । करिब ९ वर्षको एनजिओको जागिर खाईसकेपछि उनले तत्कालिन लडागडा गाउँविकास समितिमा ओभरसियरको काम गरे । त्यसपछि समायोजन भएर दिपायल सिलगढी नगरपालिकामा सोही पदमा कार्यरत रहेपनि राजनीतिक दाउपेचका कारण जागिर छोड्नुपरेको उनि बताउँछन । २०७७ सालमा जागिर छोडेर तराई झरेका उनले सोही वर्ष फर्म दर्ता गरी भैंसीपालन सुरु गरेका थिए ।

तेघरीमै सुनादेवी कृषि तथा पशुपालन फर्म दर्ता गरी २ वटा भैंसीबाट उनले फर्म सञ्चालन गरेका थिए । ‘घरमा एउटा भैंसी आफ्नै लागी पाल्नुपर्छ भनेर परिवारले दवाव दिएको थियो, त्यसमा एक दुईटा अरु थपेर यसैलाई किन व्यवसाय नबनाउने भनेर सुरुमा दुई वटा भैंसी किनेर फर्म सञ्चालन गरेको हुँ’ उनले भने । उनले सुरुवाती चरणमा आफुसँग रहेको ६५ हजार नगद र कञ्चनपुरको कलुवापुरस्थित १ कट्टा जमिन बेचेर २ लाखमा दुई वटा भैसी खरिद गरेको बताए । उनले जागिर छुटिसकेपछि भैंसीपालनबाट नै आफुले जिविकोपार्जन गरिरहेको बताए । ‘जागिर छाडेपछि घरमा आम्दानीको स्रोत थिएन, दुई ओटा छोरा छन तिनीहरु अध्ययनकै क्रममा थिए, आम्दानीको स्रोत नहुँदा समस्या थियो’ उनले भने ‘जागिर पछि घरपरिवारको खर्च धान्ने काम यो फर्ममार्फत गर्दै आईरहेको छु ।’

सोही फर्मको आम्दानीबाट उनले एउटा छोरालाई काठमाण्डौमा पढाईरहेका छन भने अर्काे छोरा अत्तरियामै पढिरहेका छन । उनले सोही फर्मबाट ६ जनाको परिवारको गुजारा गरिरहेको बताए । उनले २ भैंसीबाट फर्म सुरु गरेपनि एकताका करिब १५ वटा सम्म भैसीहरु पालेको सुनाए । ‘१५ वटा भैंसी पु¥याएको थिए, त्यतिखेर कामदारहरु पनि राखेको हुँ’ उनले भने ‘तर पछि कामदारहरुले धोका दिँदा नचाहेर पनि भैंसीहरु घटाउनुपरेको हो । घरका दुई जनाले काम गर्न नसक्ने भएपछि भैसीको संख्या घटाए ।’ ४ कट्टा जमिनमा फर्म दर्ता गरेका उनले बार्षीक २ लाख २० हजार तिर्ने गरी हाल ९ विगाहा जमिन भाडाँमा लिएका छन । उक्त जमिनमा भैंसीहरुका लागी आवश्यक घाँस तथा अन्य कुराहरु रोपेको उनले बताए ।
हाल उनको फर्ममा ५ वटा भैसी र २ वटा गाईहरु रहेका छन । तर उनले फर्मलाई अझै विस्तार गर्ने योजना रहेको बताए । त्यसका साथै उक्त जमिनमा कृषिका अन्य कार्यहरु गर्ने योजना उनको रहेको छ । उनले केही समय पछि आफुले केरा खेती गर्ने योजना बनाएको समेत बताए ।
सरकारी कार्यालयबाट सहयोग
२०७७ साल भदौदेखि फर्म सुरु गरेका उनले सोही बखत देखि नै सरकारी संस्थाहरुबाट सहयोग पाउन सुरु गरेका थिए । फर्म सञ्चालन गरेकै वर्ष २०७७/०७८ मा क्षेत्रिय पशु निर्देशनालय दिपायलबाट ३ लाख रुपैयाँ र कैलालीको गोदावरी नगरपालिकाबाट ५० हजार आर्थिक सहयोग पाएको उनले बताए ।
त्यसका साथै आर्थिक वर्ष २०७९/०८० मा ५० प्रतिशत अनुदानमा पावर टिलर पनि उनले नगरपालिकाबाट पाएका छन । सो पावर टिलर पाएपछि आफुलाई थप सहजता मिलेको उनले बताए । नगरपालिकाबाट प्रत्येक सिजनमा आफुले घाँसका बीउँहरु पाउने गरेको उनले बताए ।
