सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा लम्पी स्किनको संक्रमण भयावह बन्दै गइरहेको बेला कैलालीको गोदावरीमा पनि यसको संक्रमण फैलिन थालेको छ । गाईभैँसीमा देखा पर्ने यो रोग गोदावरीको पहाडी क्षेत्रमा देखिदै छ । लम्पी स्किनले नगरपालिकाको वडा नम्बर ४ र १२ का पहाडी क्षेत्रका जिवजन्तुहरुमा प्रकोप देखाईरहेको छ ।

यस बर्ष मात्रै गोदावरीमा करिब १० वटा पशुमा यो रोग देखा परिसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार गोदावरीको पटैनी, हाटखोली तथा सिम क्षेत्रमा यो संक्रमण देखिएको छ । विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग सन् २०१२ पश्चात् मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाइमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । लम्पी भाइरल रोग नेपालमा विस २०७७ सालमा मोरङबाट फैलिएको हो ।

लम्पी स्किन रोग विशेषगरी गाईहरूमा र कहिलेकाहीँ भैसीहरूमा समेत देखिने पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने गरेको छ । यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिङ्गा लगायतको टोकाइबाट लाग्छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुन्छ । संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने पशु चिकित्सकहरुले बताउदै आएका छन । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिङ्गा, लामखुट्टे तथा अन्य कीराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकता अनुसार कीट विकर्षकको प्रयोग गर्ने कार्य गर्नुपर्दछ ।


गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखा पर्ने गरेका छन । यो रोगको मृत्युदर धेरै नभएपनि रोग लागेपछि शरिरमा फोका देखिने र, पछि घाउँ फुटेर भिङ्गा बस्ने समस्या हुने गर्छ । घाउँ दुखाइका कारण पशुमा जरो आउने र पछि थला पर्ने गर्छन ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा फैलिएको यो रोगका कारण हालसम्म १ हजार गाईभैँसी मरिसकेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गोदावरीमा लम्पी स्किन गत बर्ष पनि पशुहरुमा देखा परेको थियो । गत बर्ष ७०/८० वटा पशुहरुमा यसको संक्रमण देखिएको नगरपालिकाले जनाएको छ । यो रोगको उपचार छैन । त्यसैले पनि गाईभैसीहरुलाई यो रोगबाट बचाउन रोगसम्बन्धी सचेत बन्न जरुरी छ ।
यो रोगको लाग्न नदिनका लागि भ्याक्सिन भएपनि यो सर्वसुलभ छैन । त्यसैले पनि विपन्न र पहाडी क्षेत्रहरुमा यो रोगको जोखिम बढी छ । यो रोग लागिसकेपछि उपचार नहुँदा रोग नै लाग्न नदिनु गाईभैसीहरुलाई रोगबाट बचाउन एकमात्रै उपाय हो ।
नगरमा फैलिरहेको लम्पी स्किन भाईरसको रोकथामका लागी स्थानिय सरकारले ध्यान दिन जरुरी छ । नगरका कतिपय किसानहरुले भैसी तथा गाईपालनबाट नै जिविकोपार्जन गरीरहेका छन । त्यस्ता किसानहरुलाई लम्पी स्किनले समस्यामा पार्ने देखिएको छ । त्यसैले रोगबाट बच्ने उपाय तथा रोग लागेपछि अपनाउनुपर्ने कुराहरुका बारेमा जनचेतना जगाउने कार्य स्थानीय सरकारले गर्नुपर्दछ ।