खाेज्नुहाेस

स्थानीय पाठ्यक्रम छिटो बनाउ

Image

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले कक्षा १ देखि ८ सम्म स्थानीय विषय पढाउन सकिने प्रावधान राखेको छ । उक्त प्रारुपले स्थानीय पेशा, व्यवसाय र प्रविधि एवम् श्रमप्रति सम्मान तथा व्यवहार कुशल सीपको प्रयोग गर्न सक्ने सक्षमता विकासमा जोड दिनुपर्ने कुरा उल्लेख गरेको छ । केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृती, जनजीवन, भुगोल लगायतका पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा अगाडी सारिएको थियो ।

स्थानीय सरकार बनेपछि धेरैजसो ठाउँमा अहिले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन । तर कैलालीको गोदावरी नगरपालिकाले भने हालसम्म स्थानीय पाठ्यक्रम बनाउन सकेको छैन ।

attariya hospital

नगरपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम गत बर्ष नै तयार पारेको भएपनि ४ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गर्न भने ढिलाई भएको हो । नगरपालिकाले कक्षा १ देखि ३ सम्मको स्थानीय पाठ्यक्रम बनाएको भएपनि त्यसको पाठ्यपुस्तक भने अझै बनाउन सकेको छैन ।

नगरपालिकाले चालु आर्थीक बर्षमा कक्षा ८ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तक बनाउन बजेट नै विनियोजन गरेको भएपनि शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम र कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक तयार हुन सकेको छैन ।

स्थानीय पाठ्यक्रम निर्माण गर्दा स्थानीय तहमा भएका व्यवसाय, स्थानीय पेशा, प्रविधि लगायतका विषय र स्थानीय कला संस्कृतिका बारेमा विद्यार्थीहरुले जानकारी पाउने विश्वास गरिएको छ । पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण गर्दा सोही क्षेत्रको चालचलन, रहनसहन, भेषभुषा लगायतका विभिन्न परिवेशहरु समावेश हुने किसिमले बनाईने हुँदा स्थानीयस्तरका विभिन्न रीतिरिवाज र संस्कृतिप्रति बालबालिकाहरुलाई जानकार बनाउन सकिने देखिन्छ । तर गोदावरी नगरपालिकाले भने हालसम्म पनि पाठ्यक्रम र पाठ्पुस्तक बनाउन सकेको छैन ।

चालु वर्षमा कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम निर्माणको काम जारी रहेको र समिति बनाएर पाठ्यक्रम बनाउने काम चलिरहेको समेत नगरपालिकाले जनाएको छ । समितिले करिब एक डेढ महिना भित्र पाठ्यक्रम तयार गर्ने समेत बताईएको छ ।

तर शैक्षिक सत्रको सुरुमै विद्यार्थीहरुलाई पाठ्यक्रम र पाठ्यपुस्तक दिईनुपर्नेमा पाठ्यक्रम निर्माणमै एक डेढ महिना लाग्दा पाठ्यपुस्तक निर्माणमा अझै समय लाग्ने भएपछि चालु शैक्षिक सत्रमा विद्यार्थीहरुले उक्त पाठ्यपुस्तक पाउने सम्भावना न्यून देखिएको छ ।

स्थानीय पाठ्यक्रममा स्थानीय भूगोल, स्थानीय प्रविधि, यस क्षेत्रको रहनसहनका बारेमा समेटिने भएकाले जतिसक्दो चाँडो स्थानिय पाठ्यक्रम निर्माण गर्नेतर्फ नगरपालिका अग्रसर बन्नुपर्दछ ।

स्थानिय पाठ्यक्रमले स्थानिय तहका विभिन्न कला, संस्कृति, जाती, भेषभुषा, स्थानिय प्रविधि लगायतका बारेमा बालबालिकालाई अझे जानकार हुन प्रेरित गर्नेछ । त्यसैले स्थानिय तहको भविष्य सँग जोडिएको पाठ्यक्रम निर्माणको विषयलाई गम्भीर रुपमा लिई तिब्र गतीमा कार्य थालिनुपर्दछ ।