खाेज्नुहाेस

अटेरीलाई कारबाही गर

Image

कैलालीको गोदावरी नगरपालिकाले खोलानाला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुचना जारी गरेको तिन महिना भन्दा बढी बितिसक्यो । पहिलो पटक गत असोज १२ गते पहिलो पटक खोलानाला अतिक्रमण गरी बनाईएका संरचना हटाउन ९० दिने सुचना नगरपालिकाले प्रकाशित गरेको थियो ।

तर उक्त अवधी मा कुनै पनि स्थानका अतिक्रमीत संरचनाहरु नहटाईदा नगरपालिकाले पुनः पुष १३ गते सुचना प्रकाशित गर्दै पुष ३० गतेसम्मका लागी अतिक्रमित क्षेत्रमा बनेका संरचनाहरु हटाउन म्याद थप गरेको थियो ।

attariya hospital

सो अवधी वितेको पनि तिन महिना भन्दा बढी भैसकेको छ । तर सुचनाको अटेरी गर्नेहरुलाई नगरपालिकाले भने कुनै कारबाही गर्न सकेको छैन । वर्षायाम सुरु भैसकेको छ । यसपटक पनि वर्षायाममा अत्तरिया क्षेत्र आसपास क्षेत्रमा डुबान हुने निश्चित बनेको छ । खोलानाला अतिक्रमण गरि बनाईएका संरचनाहरु हटाउने विषयमा नगरपालिकाको मौनता कायमै रहेको छ । सुचना जारी गरेर मौन बसेको नगरपालिकाले त्यसपछि एक्शन लिन सकेको छैन । दुई दुई पटक सुचना जारी गर्दा पनि अटेरी गर्नेहरुलाई कारबाही गरी आफैले डोजर लगाएर भएपनि अतिक्रमित संरचना हटाउन तिर नगरपालिकाले ध्यान दिन सकेको छैन ।

विगतको तुलनामा पछिल्लो समय खोलानाला अतिक्रमण गर्ने परिपाटी मौलाएको छ । छिमेकी पालिका धनगढीले खोलानाला अतिक्रमण गरी बनाईएका संरचनाहरुमा धमाधम डोजर लगाईरहेको छ । तर गोदावरीले भने दुई पटक सुचना प्रकाशित गरेपनि आफैले डोजर चलाउन सकेको छैन ।

पछिल्लो समय अत्तरिया बजार क्षेत्रमा रहेका खोलानाला अतिक्रमण हुँदै जाँदा बर्षातको समयमा बजार क्षेत्रमा डुवान हुन थालेको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १ र २ मा रहेको अत्तरिया बजार क्षेत्रका खोला किनारामा अहिले ठूला– ठूला घर ठडिएका छन् । खोलाबाटै पिल्लर ठड्याएर घर निर्माण गरिएका छन् । यसअघि नगरपालिकाले अत्तरिया बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन जारी गरिएको सूचनाको वेवस्ता गरिएपछि डोजर प्रयोग गरेर संरचना हटाएको थियो । तर खोलानालाको अतिक्रमणमा भने नगरपालिका उदासिन देखिएको छ । दुई पटक निकालिएको सुचनाको वेवास्ता गर्ने स्थानियहरुलाई कारबाही गर्ने या अतिक्रमीत संरचनामा आफैले डोजर चलाउने भन्ने विषयमा हालसम्म नगरपालिकाले निर्णय लिन सकेको देखिएको छैन ।

अतिक्रमणका कारण यहाँका खोलाहरु साघुँरिदै गएका छन । बसाईसराईको तिब्र वृद्धिका कारण कैलालीको गोदावरी नगरपालिकामा बस्ती विस्तार हुने क्रम बढ्दो छ । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएसँगै यहाँ बसाई सरी आउनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । जसले यहाँको खोलानाला अतिक्रमणलाई पनि प्रशय दिएको छ । सुरुमा खोलानाला भएका क्षेत्रमा अहिले ठुला ठुला भवनहरु निर्माण भैसकेका छन । जसले यहाँ डुबानको जोखिम बढाएको छ ।

डुबानका कारण विगतमा भएको क्षती यसपटक अझै बढ्न सक्ने देखिएको छ । पछिल्लो समय झन खोलानालाको अतिक्रमण तिब्र हुँदा फेरी पनि वर्षायाममा गोदावरीले सो समस्या भोग्नुपर्ने निश्चित नै छ ।

त्यसको समाधानका लागी खोलाको अतिक्रमण गरि बनाईएका संरचनाहरु भत्काउनु अति आवश्यक छ । त्यसका लागी नगरपालिकाले खोला अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु भत्काउन तदारुकता देखाउनुपर्दछ । साथै सुचना जारी गरेको महिनौ बितिसक्दा पनि अटेरी गर्ने व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ । जसले गर्दा आगामी दिनहरुमा खोलानाला अतिक्रमण गर्ने कार्यमा कमी आउनेछ ।