गर्मियाममा विभिन्न रोगहरु बढी देखा पर्ने गर्दछन । गर्मीयाम सुरु भएसँगै मानव शरीरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिने गर्छन । खासगरी यो समयमा विभिन्न किसिमका संक्रमणको डर हुन्छ । खानेकुरा चाँडै सड्ने र त्यसैमाथि झिङ्गा, लामखुट्टे, साङ्ला पनि धेरै पाइने भएकोले पनि यो समयमा संक्रमणको जोखिम धेरै हुन्छ ।
यसबेला ज्वरो आउने, रुघाखोकी लाग्ने, डाइरिया हुने जस्ता समस्या देखापर्न सक्छ । पाचनयन्त्र कमजोर हुने र खानेकुरा सजिलै नपच्ने भएकोले पनि अरू बेलाभन्दा यो समयमा धेरै समस्या हुन्छ । गर्मीयाममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । त्यसैले वर्षामा संक्रमित रोगको भय हुन्छ ।

यस मौसममा चिसो लाग्ने, ज्वरो आउने जस्ता समस्याहरू धेरै हुने गर्छ । खास गरी गर्मियाममा वर्षा धेरै हुनाले ठाउँ–ठाउँमा पानी जम्मा हुन्छ र त्यसमा लामखुट्टे फैलन्छ । जसकारण डेङ्गु, मलेरिया फैलने गर्दछ । गर्मि धेरै हुने भएकाले पनि वर्षायाममा विभिन्न रोगहरु लाग्ने गर्दछन ।
गर्मीमा धेरै पसिना आउनाले अथवा शारीरिक क्रियाकलाप बढी हुनाले डिहाइड्रेसनको समस्या हुन्छ । टाउको दुखाइ, थकान, घाँटी अथवा ओठ सुक्नु, पिसाबको रङ्ग परिवर्तन हुनु, हात खुट्टाको दुखाइ, रिङ्गटा लाग्नु आदि डिहाइड्रेसनका लक्षणहरू हुन् । गर्मी मौषममा खानेकुराहरु छिट्टै विग्रने भएकाले फुड प्वाईजनको समस्या पनि बढी हुन्छ ।
गर्मी मौषममा मानिसहरुमा रोगको संक्रमण तिब्र हुन्छ । त्यसैले गर्मी समयमा शरिरको विशेष ख्याल गर्नुपर्दछ । ताजा खानेकुरा खाने, गर्मीमा यताउता नहिड्ने, बढी पानी खाने, पोषिलो खानेकुराहरु बढी खाने लगायतका कार्यहरु गर्नुपर्दछ । जसले रोगको संक्रमणबाट बचाउन मद्दत गर्दछ ।

















