खाेज्नुहाेस

बैतडीका स्थानिय तहले प्रदेशका एम्बुलेन्स फिर्ता पठाए

Image

बैतडी – सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स बैतडीका स्थानीय तहबाट तीन वर्षमै फिर्ता गरिएका छन् । जिल्लाको पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले एम्बुलेन्सहरू फिर्ता गरेका हुन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्स ग्रामीण सडकमा सञ्चालनमा समस्या आएको भन्दै फिर्ता पठाएका स्थानीय तहहरूले जनाएका छन् ।

navjiwan hospital

पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स बेलाबेला बिग्रने र मर्मत खर्च धेरै नै आउन थालेपछि फिर्ता पठाएको बताइन् । कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाइएको हो । उनले भनिन्, ‘गाउँपालिकाले आफ्नै बजेटबाट एम्बुलेन्स किन्ने तयारी थालेका छौँ, ग्रामीण सडकमा सहज रूपमा सञ्चालन हुने एम्बुलेन्स किन्छौँ ।’

attariya hospital

मन्त्रालयले उपलब्ध गराएका एम्बुलेन्सहरू पहाडी जिल्लाका ग्रामीण सडकहरूमा सञ्चालन गर्न असहज हुने गरेको गुनासो बढेको छ । एकपटक बिरामीलाई बोकेको अवस्थामा मर्मत गर्नैपर्ने स्थितिका एम्बुलेन्स रहेको एम्बुलेन्स चालकहरूले बताएका छन् । पहाडी क्षेत्रमा झुल खाने (थोरै स्पिड दगुराउँदा हल्लिने), ब्रेक नलाग्ने, स्पिड नहाँकिने लगायतका समस्या आउने गरेको थियो । सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिक १७ गते गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । पञ्चेश्वरको कुलाउ स्वास्थ्य चौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर धनगढीमा थन्किएको थियो ।

डिलासैनी गाउँपालिकाकाले पनि प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाउने निर्णय गरेको प्रवक्ता यज्ञ भट्टले बताए । बेलाबेलामा बिग्रने र मर्मत खर्च धेरै आउने समस्याले गर्दा एम्बुलेन्स एक वर्षदेखि ठप्प थियो । उनले भने, ‘पालिकासँग जोड्ने सबै सडक कच्ची भएकाले उक्त सडकहरूमा प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स सञ्चालनमा कठिनाइ थियो, अनि बिग्रने समस्या पनि बढी भएकोले फिर्ता गर्ने निर्णयमा पुग्यौँ । हामीले नयाँ एम्बुलेन्सका लागि रेडक्रसको केन्द्रीय कार्यालयसँग माग गरेका छौँ ।’ सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन वर्षअघि प्रदेशका १६ वटा स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई सुविधा सम्पन्न एम्बुलेन्स उपलब्ध गराएको थियो ।