सुदूरपपश्चिममा पछिल्लो केही दिन यता कोरोना भाईरसको संक्रमण बढ्दै गईरहेको छ । भारतमा कोरोना संक्रमण बढेसँगै भारतसँग सिमा जोडिएको प्रदेश भएकाले सुदूरपश्चिममा पनि यसको प्रभाव बढ्दो छ । सुदूरपश्चिमका विभिन्न नाकाहरुबाट स्वदेश फर्किरहेका नेपालीहरुमा धमाधम कोरोनाको संक्रमण पुष्टि भैरहेको छ । भारतमा कोरोना भाईरसको प्रभाव दिनानुदिन बढ्दै गईरहेको र विसु पर्वको अवसरमा स्वदेश फर्किरहेका नेपालीहरुमार्फत नेपालमा पनि त्यसको प्रभाव बढ्दै गईरहेको स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन । स्वास्थ्यकर्मीहरुले कोरोना भाईरसको संक्रमण बढ्नुभन्दा अगाडी नै स्वास्थ्य सजगता अपनाउन आग्रह गरिरहेका छन ।

सुदूरपश्चिम प्रदेशसमा हालसम्म ६ लाख ४७ हजार सात सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म ६१ हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाबाट प्रदेशमा हालसम्म ६ सय ३५ जनाको ज्यान गइसकेको छ । बिहिबार मात्रै प्रदेशमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बिहिबार एन्टिजेन बिधिबाट ६७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको कोरोना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना भाईरसको संक्रमणलाई मध्यनजर गर्दै बुस्टर खोप लगाउने कार्य पनि सुरु भैसकेको छ । तर कोरोनाको पहिलो खोप लगाउनेको संख्या भन्दा बुस्टर खोप लगाउनेको संख्या एकदमै न्यून रहेको छ ।

सुदूरपश्चिममा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरु गरिएको थियो । भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै गईरहेकाले सीमानाकामा हेल्थ डेस्क स्थापनाका साथै अनिवार्य कोरोना परीक्षण गराउने गरिएको छ । तर कोरोना भाईरसको संक्रमणबाट जोगिन व्यक्ति आफैले पनि सजगता अपनाउन जरुरी छ । विगतमा कोरोनाका कारण बेहोर्नुपरेको आर्थिक एवम् मानविय क्षति दोहोरीन नदिन आजैदेखी स्वास्थ्य सजगता अपनाउन अनिवार्य छ । कोरोना भाईरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने उपायहरुको अवलम्बन गरी अनिवार्य रुपमा मास्कको प्रयोग गरौ ।
कोरोना भाईरस अन्यको तुलनामा एकदमै जटिल रुपमा देखा परेको भाईरसको हो । कोरोनाको महामारीका समयमा देशका सबै अस्पतालहरुमा संक्रमितहरु बाच्नको लागी संघर्ष गरीरहेका देखेका हामिहरुले फेरी पनि लापरबाही गरे भविष्यमा नराम्रो अवस्था देख्नुपर्ने अवस्था आउन सक्छ । कोरोनाबाट बच्ने सबैभन्दा उत्तम उपाय नै स्वास्थ्य सजगता अपनाउनु हो । स्वास्थ्य सजगता अपनाउन सके आफु र परिवारलाई कोरोनाको महामारीबाट बचाउन सकिन्छ । त्यसमा सरकारले पनि भविष्यमा आउन सक्ने महामारीका लागी आजैदेखी तयारी थाल्नुपर्दछ । कोरोनाको जोखिम कम गर्न र कोरोना महामारी न्यूनिकरण गर्न पहल कदमी गर्नुपर्दछ । केही समय मत्थर भएको महामारी पुनः भारतबाट फैलिईरहेको छ । त्यसैले यसबाट बच्न र सबैलाई बचाउन सजग हुन आवश्यक छ ।















