खाेज्नुहाेस

कैलालीमा बालबालिकाको सहभागिताबिना नै योजना छनोट

Image

टीकापुर – योजना छनोटमा बालबालिकालाई सहभागी गराउनुपर्ने भए पनि कैलालीका स्थानीय तहहरू सहभागी गराउँदैनन् । पालिकाको योजना छनोट गर्न सात चरण पार गर्नुपर्ने प्रावधान छ । यसरी छनोट गर्दा महिला, बालबालिका, फरक क्षमता भएका व्यक्ति, दलित, सीमान्तकृत आदिको सहभागिता गराउनुपर्ने हुन्छ । तर, कैलालीका स्थानीय पालिकाहरू भने बालबालिकासम्बन्धी योजना छनोट गर्नसमेत उनीहरूलाई सहभागी गराउँदैनन् ।

कैलालीको घोडाघोडी नगरपालिकाले बालअधिकारका लागि पञ्चवर्षीय योजना बनाइरहेको छ । बालमैत्री वडा घोषणा गर्ने तयारीमा छ। तर, नगरका बालबालिकासँग योजनाबारे कुनै छलफल गरेको छैन। घोडाघोडी नगरपालिका–१ की १५ वर्षीया सोनु चौधरीले नगरपालिकाले योजना बनाउँदा बालबालिकासँग छलफल नगरेको बताइन् ।

attariya hospital

‘नगरपालिकाले बालबालिकाको लागि योजना बनाई रहेको छ, तर हामीलाई त्यसबारे कुनै जानकारी नै हुँदैन’, चौधरीले भनिन् ‘हामी विभिन्न बालक्लबमा आबद्ध भएको हुनाले आफंै वडा र नगरपालिकामा आएर आफ्ना कुरा राख्ने गरेका छौं ।’

घोडाघोडीका नगर प्रमुख खडकबहादुर रावतसमेत योजना निर्माणमा बालबालिकाको सहभागिता नरहेको स्वीकार गर्छन् । ‘बालबालिकालाई योजना निर्माणमा सहभागी गराउन सकेका छैनौं’, नगर प्रमुख रावतले भने। ‘यस वर्ष हामी प्रारम्भमै बालबालिकासँग हामी छलफल गर्दैछौं ।’

navjiwan hospital

गौरीगंगा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै आएको छ । पालिकाले किशोरी मनोपरामर्श र आत्मरक्षा तालिम सञ्चालन गर्दै आएको छ । तर, पनि नगरपालिकाले योजना निर्माणमा बालबालिकालाई सहभागी गराउन सकेको छैन । नगरपालिकाका उपप्रमुख भोजबहादुर बम नीति तथा कार्यक्रम र बजेट निर्माणमा बालबालिकालाई सहभागी गराउन चुकेको बताउँछन् । ‘निर्वाचित भएलगत्तै नीति तथा कार्यक्रम ल्याउनु प¥यो, त्यही भएर सहभागी गराउन सकेनौं’, उपप्रमुख बमले भने । ‘बालबालिका शाखा र बालअधिकारसम्बन्धी काम गर्दै आएका संघ–संस्थासँगको सहकार्यमा यस वर्ष समेट्ने छौं ।’

भजनी नगरपालिका–१ का श्याम विश्वकर्मा बाल क्बलमा आबद्ध छन् । उनीहरू पालैपालो नगरपालिका र वडा कार्यालयमा बालबालिकाबारे प्रकाशित हुने सूचना हेर्न आउँछन् ।

‘हामी क्बलका सदस्यहरू पालैपालो वडा र नगरपालिकामा आएर सूचना हेर्छौं,’ उनले भने । ‘कुनै कार्यक्रम आए साथीहरूबीच छलफल गर्छौं र आफ्ना मुद्दा राख्न नगरपालिकामै आएर भन्छौं । जसले गर्दा बालबालिकाका कतिपय मुद्दाहरू सम्बोधनसमेत भएका छन् ।’

टीकापुर नगरपालिकाले समेत बालबालिका सम्बन्धी पञ्चवर्षीय योजना बनाई रहेको छ । २०८२ भित्र बालबालिकाका लागि बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ । १ लाख ७५ हजार रुपैयाँको बालकोष निर्माण गरेको छ । तर, पनि योजना छनोट र निर्माणमा बालबालिकाको सहभागिता भने निकै कम हुने गरेको टीकापुर नगरपालिकाका नगर उपप्रमुख खड्कबहादुर शाह बताउँछन् ।

‘टोल र वडा भेलामै उनीहरूलाई सहभागी गराउनुपर्ने हो’, उपप्रमुख शाहले भने । ‘अहिलेसम्म त्यस्तो भएको देखिँदैन, वडा र नगरले जस्तो कार्यक्रम ल्यायो त्यही सञ्चालन हुँदै आएका छन् ।’ नगरले यस वर्षदेखि वडास्तरमै बालबालिकाको सहभागिताका लागि पहल गरिरहेको उपप्रमुख शाहले बताए ।

योजना निर्माणमा बालबालिकाको सहभागिता बढाउन वल्र्ड भिजन र बालकल्याण संघले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रम सञ्चालन भएका पालिकाहरूले योजना निर्माणमा सहभागिता बढाउन पहल गरिरहेका छन् । बालबालिकाको आवश्यकताका आधारमा योजना तथा कार्यक्रम निर्माण गर्नुपर्नेमा उनीहरूको सहभागिता बिना नै योजना बनाउँदा लक्षित वर्गसँग नपुग्ने सरोकारवालाहरू बताउँछन् ।