खाेज्नुहाेस

विदेशबाट फर्केर गाउँमै उद्योग

Image

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरका छन ।

करिब एक दशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उनले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग सञ्चालन गरका छन । पानी उद्योगसँगै उनले सिरक डसना उद्योगसमेत सञ्चालन गरेका छन । ‘नौ वर्ष मलेसियामा सुरक्षागार्डका रुपमा काम गरे’ उनले भने, ‘अर्काको देशमा १२/१२ घण्टा काम गर्नुभन्दा आफ्नै देशमा १२ घण्टा काम गरे सफल भइन्छ भन्ने सोच आयो अनि घरमै उद्योग सञ्चालन गरेको हुँ ।’

attariya hospital

डेढ दशकअघि रोजगारी खोज्दै खाडी मुलुक पुगेका उनले अहिले उद्योगमा पाँच जनालाई रोजगारी दिएका छन । उनले तीन वर्षअघि ३८ लाखमा उद्योग स्थापना गरेर काम सुरु गरेको बताए । ‘अहिले पाँच जनाबाहेक मलाई बुवा र श्रीमतीले पनि सहयोग गर्नुभएको छ’, उनले भने ‘विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउँछु भनेर लागेको छु ।’ उनले फुर्सदका समय निकालेर कृषि कार्यमा समेत लागेको बताए ।

navjiwan hospital

‘फुर्सद भएका बेला आफ्नै खेतमा काम गर्छु ।’ उनले भने, ‘सिजनका बेला गन्नाको जुस पनि बिक्री गर्ने गरेको छु ।’ उनले पुराना सिरक डसनाबाट नयाँ सिरक डसना बनाउने गरेको बताए ।  ‘अहिले बेदकोट नगरपालिकामा मात्रै बिक्रीवितरण गर्ने गरेको छु’, उनले भने, ‘बाहिर बजारमा अवस्थ्य प्रतिस्पर्धा छ स्थानीय बजारमै सन्तुष्ट छु ।’ स्वदेशमा उद्यम गर्नका लागि थुप्रै समस्या भए पनि अर्काको देशमा मेहनत गर्नुभन्दा आफ्नै देशमा मेहनत गर्न लागेको उनले बताए । ‘यहाँ केही गर्न चाहनेलाई राज्यबाट सहयोग भएको देखिएन’, उनले गुनासो गर्दै भने, ‘कृषिमा पनि गर्नेले कहिले सहुलियत अनुदान पाउँदैन नगर्नेले अनुदान पाएको हुन्छ ।’

उनले यहाँ बजारको मुख्य समस्या रहेको बताए । विदेशबाट फर्केर स्वदेशमा उद्यम गर्नेलाई स्थानीय सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै निकायबाट सहयोग नभएको उनको भनाई छ । यहाँ कृषि गर्न चाहनेका लागि पनि सरकारले वातावरण बनाउन नसकेको उनको दुखेसो छ । ‘आफ्नै खेतबारीमा केही उत्पादन गरौँ भने पनि त्यस्तो वातावरण छैन’, उनले भने, ‘समयमा मलखाद र बीउबिजन पाउन मुस्किल पर्छ ।’ उनले सरकारले समयमै मलखाद र बीउबिजन उपलब्ध गराए विदेशिने युवा रोकिने बताए ।

‘अहिले पनि दैनिक सयौँ युवा विदेश गइरहेका छन् यहाँ रोजगारी नपाएर नै हुन’, उनले भने, ‘सरकारले आफ्नो भूमिमा उत्पादन गर्ने उद्यमीका लागि विशेष सुविधा दिनुपर्छ ।’ उनले आफ्नो उद्योगबाट पर्याप्त आम्दानी नभए पनि परिवारको जोहो भइरहेको बताए ।

रासस