स्थापना कालदेखि नै नवौं तहको डाक्टर विहिन बनेको कैलालीको गोदावरी नगरपालिका मातहत रहेको मालाखेती अस्पतालले पहिलो पटक नवौं तहको डाक्टर पायो । नवौं तहको एमडीजिपी डाक्टर आउने वित्तिकै अस्पतालको व्यवस्थापन पक्ष चुस्त दुरुस्त रुपमा अगाडी बढेको छ ।
अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा पनि डाक्टर नै नियुक्त भएका छन । अत्तरियामा रहेको पद्मा अस्पताल प्रालिका प्रबन्ध निर्देशक समेत रहेका डाक्टर नर बहादुर मौनी मालाखेती अस्पतालको व्यवस्थापन समिति अध्यक्ष बनेका छन । उनि अध्यक्ष बन्दा धेरैले टिकाटिप्पणी पनि गरे । निजी अस्पताल सञ्चालकलाई सरकारी अस्पतालको अध्यक्षको जिम्मेवारी दिईदा त्यसले सरकारी अस्पतालको सेवालाई गुणस्तरिय नबनाई निजी अस्पतालमा बिरामी आउने वातावरण बनाउन सक्दछ भन्ने मानसिकता आम सर्वसाधारणमा उत्पन्न हुनु स्वाभाविक नै थियो ।

तर, अध्यक्ष नै डाक्टर चुनिदा अस्पतालको सेवा प्रवाह स्तरिय बन्दै जान थालेको छ । पहिलो पटक नवौं तहको डाक्टर पाएको मालाखेतीमा ईमरजेन्सी सेवा, ईन्डोर सेवा, ओटी लगायतका सेवाहरु सञ्चालनमा आईसकेका छन् । कुनै समय बादर सुत्ने र बादरले खेल्ने ठाउँ बनेका विरामी राख्ने बेडहरु अहिले प्रयोगमा आएका छन । केही दिन अघि मात्रै अस्पतालमा पहिलो पटक अप्रेशन सेवा पनि सुरु भएको छ ।

एमडीजिपी डाक्टर अन्वेश कोईराला लगायतको टिमले अस्पतालमा पहिलो पटक सुत्केरी महिलाको अप्रेशन गरेर आमा र बच्चालाई सकुशल राख्न सफल भएका छन । अस्पतालमा अप्रेशन सेवा पनि सुरु भएपछि अब धनगढी लगायतका शहरहरुमा उपचारका लागी जाने अवस्थामा कमी आउन थालेको छ । सकुशल रुपमा सुत्केरीको अप्रेशन गरिएपनि अस्पतालमा अझै केही कुराहरुको अभावका कारण अप्रेशन सेवा प्रभावकारी हुने कुरामा भने शंका गरिन थालिएको छ ।
अप्रेशनका लागी आवश्यक केही उपकरणहरु अस्पतालमा पुगेका छैनन भने अप्रेशनको समयमा अति आवश्यक पर्ने ब्लड बैंक नै यहाँ छैन । सुत्केरीहरुको अप्रेशन गर्नुपुर्व धनगढीस्थित नेपाल रेडक्रस सोसाईटीको ब्लड बैंकबाट ब्लड ल्याएर आउनुपर्ने बाध्यता छ । त्यसले गर्दा अप्रेशन सेवा सुरु भएपनि प्रभावकारी हुने कुरामा भने अझै विश्वास गर्न सकिने अवस्था छैन ।
स्थानीय सरकार मातहत रहेको मालाखेती अस्पतालले विगतको तुलनामा धेरै कुरामा काचुँली फेरिसकेको छ । अप्रेशन नै सुरु हुँदा उत्साहित बनेका नगरबासीहरुलाई निरास बन्ने वातावरण उत्पन्न हुन नदिन सरकारले यथासक्य ब्लड बैंकको स्थापनाका लागी पहल थाल्नुपर्ने देखिन्छ । ब्लड बैंक नगरमै भए यहाँ गरिने सुत्केरी तथा अन्य रोगहरुको अप्रेशनका लागी अझै सहज हुनेछ ।
अन्य ठाउँबाट ब्लड ल्याएर मालाखेतीमा अप्रेशन गर्ने अवस्था आउन नदिन र ब्लड अभावकै कारण कसैको अकालमै ज्यान जाने स्थिति आउन बाट बच्न आजैदेखि ब्लड बैंक निर्माण गर्न सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।


















