पछिल्लो समय अत्तरिया क्षेत्रका खोलाहरु साघँुरिदै गएका छन । बसाईसराईको तिब्र वृद्धिका कारण कैलालीको गोदावरी नगरपालिकामा बस्ती विस्तार हुने क्रम बढ्दो छ । सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएसँगै यहाँ बसाई सरी आउनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।
जसले यहाँको खोलानाला अतिक्रमणलाई पनि प्रशय दिएको छ । घर नजिक रहेका खोलानालाको जमिन अतिक्रमण गरी बेचबिखन तथा आफु मातहत ल्याउने कार्य गोदावरीमा बढीरहेको छ । सुरुमा खोलानाला भएका क्षेत्रमा अहिले ठुला ठुला भवनहरु निर्माण भैसकेका छन । गोदावरीको मुख्य बजार क्षेत्र अत्तरिया आसपासका ठुला खोलाहरु अहिले नालामा परिणत भैसकेका छन । जसले यहाँ डुबानको जोखिम बढाएको छ ।


वर्षायामको समय सुरु हुदै गर्दा खोलानालाको अतिक्रमणका कारण डुबानको समस्या यहाँ बढी देखिने अवस्था आएको छ । विगतका दिनहरुमा पनि डुबानका कारण यहाँ कयौले आफ्नो घर छोडेर अर्काको घरमा सहारा लिनुपरेको थियो भने किसानहरुले राम्रो सँग खाद्यान्न बाली समेट्न पाएका थिएनन् । तर अत्तरियाको अहिलेको अवस्था हेर्दा डुबानको समस्या झन विकराल हुने देखिन्छ ।

अतिक्रमणका कारण खोलाको आकार साघुँरिदा पानिको वहाव बाहिर आउने गर्दछ । जसका कारण डुबानको समस्या बल्झिने गरेको छ । डुबानका कारण विगतमा धनजन दुवैको क्षती भएको थियो । फेरी पनि वर्षायाममा गोदावरीले सो समस्या भोग्नुपर्ने निश्चित नै छ । त्यसको समाधानका लागी खोलाको अतिक्रमण गरि बनाईएका संरचनाहरु भत्काउनु अति आवश्यक छ ।
गोदावरी नगरपालिकाले सडक अतिक्रमण गरि बनाएका संरचनाहरु भत्काएको छ । विगतका दिनमा आलटाल र विरोध गर्दै आएकाहरुका अतिक्रमीत संरचनाहरु नगरपालिकाले डोजर प्रयोग गरेर भत्कायो । यो आफैले एकदमै राम्रो काम भएको छ । सोही तरिकाले अब खोला अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु भत्काउनमा पनि ध्यान दिन जरुरी छ ।

खोलाको अतिक्रमणले अतिक्रमणकारीलाई पनि समस्यामा पार्ने भएकाले अतिक्रमण गर्ने व्यक्तिले स्वयम् त्यसको समस्या समाधानमा अग्रसरता देखाए अझै उपयुक्त हुनेछ ।
नगरपालिकाले खोला अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरु भत्काउन सुचना जारी गरिसकेको छ । सुचनाको वेवास्ता गर्दै अझै पनि संरचना नहटाउने व्यक्तिको संरचना हटाउन नगरपालिकाले अब ढिलाई गर्नुहुदैन । खोलामा बनाईएका संरचना भत्काए मात्रै डुबानको समस्या समाधान हुने भएकाले त्यसतर्फ सबैले ध्यान दिन अनिवार्य छ ।
