काम लगाइदिने र आकर्षक कमाइ हुने प्रलोभनमा पारी बेचिएका ९ जना नेपाली युवतीको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरूलाई भारतको दिल्लीबाट उद्धार गरेको हो । बेचबिखन गर्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–९, की २० वर्षीया सम्झना तामाङ उर्फ सेन्जी तामाङ, धादिङ धुनबेशी नगरपालिका–२ बस्ने २५ को भुवन तामाङ र भुवन तामाङको श्रीमती २० वर्षीया शुष्मा मग्राती रहेका छन् ।

अनुसन्धान ब्युरोका प्रवक्ता कृष्ण केसीका अनुसार पक्राउ परेका समूहले काठमाडौंका विभिन्न बार, क्लब, क्याफे, दोहोरी साँझमा काम गर्ने युवतीहरूलाई भारतको दिल्ली स्थित विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने भनी प्रलोभनमा पारी भारतको दिल्ली पु¥याई बन्धक बनाएका थिए ।
बन्धक बनाइ जबर्जस्ती वेश्यावृत्तिमा लगाएका थिए । बन्धक पारिएका युवतीलाई प्रत्येक महिना १५० भन्दा धेरै मानिससँग शारीरिक सम्बन्ध राख्न दवाव दिने गर्दथे ।

बेचबिखनमा सक्रिय गिरोहले उनीहरूलाई गत असोजमा नेपालगञ्जको जमुनाह नाका हुँदै दिल्लीको बसमा चढाएर बिक्री गरेका थिए ।
घटनाको अनुसन्धानका क्रममा केही युवतीलाई प्राइभेट गाडीमा राखी प्याकेट खाना तथा जुसमा बेहोस बनाउने औषधि मिसाएर बोर्डर पार गराउने खुलेको छ । मानव बेचबिखन ब्युरोको समन्वयमा भारत स्थित नेपाली दुतावास, भारतीय सामाजिक संस्था प्क्ष्ल् क्ष्ल्म्क्ष्ब्, नेपाल स्थित शक्ति समूह एवं भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई यही चैत ७ गते उद्धार गरिएको हो ।
पक्राउ परेका समूहले काठमाडौंका माछापोखरी ,बसपार्क लगायतका ठाउँहरूमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गर्दथे ।
पीडित युवतीहरूलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराउने र उनीहरूले चलाउने सामाजिक सञ्जालको निगरानी गर्दथे । पीडित युवतीलाई सीसीटीभीको निगरानीमा राखी उनीहरूलाई देशव्यापारका लागि बाध्य पार्ने गर्दथे ।
दिल्ली किशनगढस्थित पंजावीढावा भन्ने स्थानमा भाडामा लिएको फ्ल्याटमा राखेका थिए । वेश्यागमनमा आउने व्यक्तिहरूले भनेको होटल, घरहरूमा ट्याक्सी बुक गरी पु¥याइदिने गरेका थिए ।
प्रत्येक महिनामा एक जना युवतीले कम्तीमा १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने दवाव दिने र अन्य सहरमा समेत पठाउने गरेका थिए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।



















