धनगढी – सुदूरपश्चिम बहुमूल्य जडीबुटीको भण्डार भएपनि पछिल्लो समय मासिदै गएको छ । अत्यधिक गर्मी हुने तराईदेखि बाह्रैमास चिसो रहने अपी–साइपाल हिमालसम्मको उचाइ भएकाले थरीथरीका जडीबुटी उत्पादन हुने गरेका छन । तर पछिललो समय अत्यधिक संकलन र परिपक्व हुनुभन्दा अगाडि संकलन गर्ने प्रवृत्तिले पछिल्ला वर्षहरूमा उत्पादन घट्दो क्रममा छ ।

सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका वन अधिकृत भक्तराज गिरीका अनुसार सुदूरपश्चिममा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य पाउने यार्चागुम्बुदेखि मसलामा प्रयोग गरिने टिमुरसम्म उत्पादन हुन्छन् । सुदूरपश्चिमका हिमाली क्षेत्रमा यार्चागुम्बु र उच्च पहाडी क्षेत्रमा पदमचाल, कुटकी, जटामसी, चिराइतो, सतुवा, अतिस, विषजरा, वन लसुनलगायतका जडीबुटी पाइन्छन् ।

जडीबुटीको उत्पादनसँगै कारोबार घटेपछि धेरैजसोले यो व्यापार नै छोडिसकेको दार्चुलाका जडीबुटी व्यापारी वीरेन्द्र भट्ट बताउँछन् । बझाङका जडीबुटी व्यापारी दानबहादुर सुर्मेलीको अनुभव पनि उस्तै छ । जिल्लाभर हुने जडीबुटी कारोबार ८÷१० वर्षअघिको भन्दा ७० प्रतिशतले घटिसकेको उनले बताए । ‘म एक्लैले वर्षमा २५ करोड बराबरको कारोबार गर्थें । मभन्दा बढीको कारोबार गर्ने पनि धेरै थिए,’ उनले भने, ‘अहिले मेरो फर्मबाट मुस्किलले एक÷डेढ करोडको कारोबार हुन्छ ।’
मन्त्रालयका अनुसार सुदूरपश्चिमबाट आर्थिक वर्ष ०८०/८१ मा एक हजार ९ सय ७५ टन, ०८१/८२ मा बढेर दुई हजार १ सय १२.७ टन र ०८२/८३ को चैत मसान्तसम्म दुई हजार १ सय ३२.३ टन सुदूरपश्चिमबाट निकासी भएको तथ्यांक छ ।



















