धनगढी – मनसुन सक्रिय भएसँगै धनगढी उपमहानगरपालिका–१२ ले विपद् पूर्व तयारीका कार्यक्रमलाई तीव्र बनाएको छ । वडावासीको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले वडा कार्यालयले डिभिजन वन कार्यालयसँग समन्वय गरी बस्ती तथा सडक नजिक रहेका सुकेका र जोखिमपूर्ण रुख हटाउने अभियान सञ्चालन गरेको हो ।

वर्षायाममा सुकेका रुख ढल्ने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले ती रुख हटाउनुका साथै सडक छेउमा रहेका काटिएका रुखका मुढा र जरासमेत हटाइएको वडा कार्यालयले जनाएको छ । यसबाट स्थानीयवासीले सुरक्षित महसुस गर्न थालेका छन् । स्थानीयवासीले सुकेका रुखले दुर्घटनाको जोखिम बढाउने भएकाले यस्ता रुख समयमै हटाउने कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

वडा कार्यालयले भौतिक जोखिम न्यूनीकरणसँगै विपद् व्यवस्थापनको तयारीलाई पनि सुदृढ बनाएको छ । बाढी, डुबान, हावाहुरी वा अन्य प्राकृतिक विपद्का बेला तत्काल उद्धार र राहतका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा उपमहानगर प्रहरीसँग आवश्यक समन्वय भइरहेको वडा अध्यक्ष सेरबहादुर महराले जानकारी दिए ।
उनका अनुसार विपद्को समयमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्री तयारी अवस्थामा राखिएको छ भने स्वयंसेवक परिचालनको व्यवस्थासमेत मिलाइएको छ । मनसुन अवधिभर सम्भावित जोखिमलाई ध्यानमा राख्दै वडा कार्यालय उच्च सतर्कताका साथ पूर्व तयारीमा जुटेको अध्यक्ष महराले बताए ।
















