अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको साधारण सम्पन्न भएको छ । शनिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
समितिका अध्यक्ष दिर्घ बहादुर साउँदको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्दै उनले पछिल्लो समय खानेपानीका विभिन्न चुनौतीहरु रहेको बताए । उनले जमिन मुनिको सतह सुख्खा हुदै जाँदा गर्मीयाममा खानेपानी वितरण गर्न समस्या भैरहेको अवस्था सृजना भैरहेको समेत बताए । उनले त्यसको समाधान गर्न भोलीका दिनहरुका लागि मुहानसँग जोडिएर काम गर्न आवश्यक रहेको बताए । उनले त्यसका लागि अहिलेदेखी नै योजना बनाएर अघि बढ्न आवश्यक रहेको समेत औल्याए ।
स्वास्थ्य, शिक्षा र खानेपानी मानिसका आधारभुत आवश्यकताका कुरा भएकाले स्थानिय सरकार ति आधारभुत आवश्यकता पुरा गर्न तिर नै अगाडी बढीरहेको उनको भनाई थियो । उनले संस्थाको हित र प्रगतीका लागि सर्वपक्षिय र सर्वदलिय समिति आवश्यक हुने भएकाले निर्वाचन नगरी सहमती मा नयाँ नेतृत्व चयन गर्न पनि आग्रह गरे ।

उनले खानेपानी प्रति संस्थाका कर्मचारी र समितिको मात्रै नभई उपभोक्ताको पनि उत्तिकै उत्तरदायित्व रहने बताए । ‘खानेपानी हामीलाई चाहिने तर खानेपानीको महसुल हामीले नतिर्ने’ उनले भने ‘कुनै कारणवश खानेपानी सप्लाइ हुन सकेन भने दोष चाही दिने, त्यो प्रवृत्ति हटाऔँ, खानेपानीमा सबैको उत्तरदायित्व समान हुन्छ ।’ उनले संस्थाको हितका लागि सबैले अग्रसर हुनुपर्ने पनि बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष साउँदले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न गरेका कामहरु तथा सो काम गर्दा सामना गर्नुपरेका चुनौतीहरु पनि प्रगती प्रतिवेदन मार्फत उल्लेख गरेका छन् ।

अध्यक्ष साउँदको प्रतिवेदनमा संस्थाले सो आर्थिक वर्षमा २५० बढी ठाउँका मेन तथा शाखा पाईपलाईनहरु मर्मत गरेको, अघिल्लो वर्षको तुलनामा २१८ जना उपभोक्ताहरु थप गरिएको, अघिल्लो वर्ष १ हजार ३७९ धारा सुचारु भएकोमा आर्थिक वर्ष २०८१/०८२ मा थपेर सो संख्या १ हजार ६५२ पु¥याएको, गोदावरी नगरपालिका– ६ बाट १ लाख, वडा नंं ७ बाट २ लाख र संस्थाका तर्फबाट १ लाख ७४ हजार ५२० रुपैया थपी ३ लाख ७४ हजार ५२० रुपैया बराबरको ओभरहेड टंकीको भौतिक संरचना मा रंगरोगन कार्य सम्पन्न गरिसकिएको, प्रत्येक दिन पानीको गुणस्तर चेक जाँच गर्ने गरिएको, ६ महिनामा घुम्ती एम्बुलेन्सबाट पानी परिक्षण गरिएको, ३०० मिटर शाखा पाईप लाईन विस्तार गरिएको लगायतका कार्य भएको उल्लेख गरिएको छ ।
त्यसबाहेक उपभोक्ताहरुको आयस्रोतलाई ध्यानमा राखी न्यूनतम महसुलमा २० रुपैया घटाएर १३० पु¥याएको, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ३० लाख रकमको लगभग ८० प्रतिशत रिजर्भ टंकीको कार्या सम्पन्न भैसकेको, गोदावरी नगरपालिकाको ८ लाख र संस्थाको ६ लख ११ हजार १९५ रुपैयाको लगानीमा दुई कोठे पक्की भवन निर्माण गरिएको लगायतका कार्यहरु अध्यक्ष साउँदको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उनले भवन अभावका कारण कार्यालयको व्यवस्थापनमा कठीनाई भएको, उपभोक्ताले समयमै पानीको महसुल नतिर्दा समस्या हुने गरेको, खेतबाट विस्तार भएका पाईप लाईन फुट्दा मर्मतमा समस्या हुने गरेको लगायतका चुनौतीहरु पनि प्रतिवेदनमार्फत साधारण सभामा सार्वजनिक गरेका छन् । संस्थाले आगामी दिनहरुमा खानेपानीको ऐन तथा विनियम बनाई लागु गर्ने, दोहोरो पाईप लाईन विस्तार गर्ने, रिर्जव टंकी सञ्चालनको लागि व्यवस्था गर्ने, तेस्रो बोर सञ्चालनका लागि पहल गर्ने लगायतका योजनाहरु अघि सारेको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष खगेन्द्र राज पनेरु ले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड १६ लाख २८ हजार १२० रुपैया बराबरको कारोबार गरेको छ । सो आर्थिक वर्षमा संस्थाले विभिन्न खर्चहरु कटाएर १८ लाख ७१ हजार ९२८ रुपैया बचत गर्न सफल भएको छ । संस्थाले विलम्ब शुल्क, पानी महसुल, नयाँ धारा जडान, धारा नामसारी, बैंक ब्याज लगायतलाई आयका रुपमा प्रस्तुत गरेको छ । जसमा कर्मचारी तलब, सामान खरिद, विद्यूत महसुल लगायतका खर्चहरु कटाएको आर्थिक प्रतिवेदनमा देखाईएको छ ।



















