खाेज्नुहाेस

बैतडीमा ३४ सवारी दुर्घटनामा ४७ जनाको मृत्यु

Image

बैतडी – बैतडीमा पछिल्लो तीन बर्षमा भएका ३४ सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गएको तीन बर्षमा भएका सवारी दुर्घटनामा परेर १ सय २६ जना घाइते भएका थिए ।

पछिल्लो तीन बर्षको तथ्यांक हेर्दा हरेक बर्ष सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनामा ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा ८ ओटा सवारी दुर्घटनामा ४ पुरुष र ३ महिला गरी ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक भुवनप्रसाद तिमिल्सैनाले बताए । उक्त आर्थिक बर्षमा भएका सवारी दुर्घटनामा ३४ जना पुरुष र ८ जना महिला गरी ४२ जना घाइते भएका थिए ।

attariya hospital
navjiwan hospital

यस्तै गत आर्थिक बर्ष २०८१÷०८२ मा १० ओटा सवारी दुर्घटनामा ५ जना पुरुष र ६ जना महिला गरी ११ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ । उक्त आर्थिक बर्षमा १३ जना पुरुष र १२ जना महिला गरी २५ जना घाइते भएका थिए ।

चालु आर्थिक बर्ष २०८२÷८३ मा अहिलेसम्म १६ ओटा सवारी दुर्घटना भइसकेका प्रहरी निरीक्षक तिमिल्सैनाले बताए । विभिन्न ठाउँमा भएका दुर्घटनामा यो आर्थिक बर्षमा २४ जना पुरुष र ५ जना महिला गरी २९ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ । यस्तै चालु आर्थिक बर्षको अहिलेसम्म सवारी दुर्घटनामा ३४ जना पुरुष र २५ जना महिला गरी ५९ जना घाइते भएका प्रहरीको तथ्यांक छ ।

गएको शुक्रबारमात्रै पाटन नगरपालिका–९ गैराखानमा भएको बस दुर्घटनामा २४ जना घाइते भएका थिए । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
क्षमताभन्दा बढी यात्रु बोक्नु, चालकको लापरवाही, गाडीको प्राविधिक गडीबढी, सडकको अवस्था लगायतका कारण सवारी दुर्घटना हुने गरेका प्रहरीको बिश्लेषण छ ।