वर्षायाम सुरु हुदैछ । वर्षायाममा नदी तथा खोलाहरुमा आउने बाढीले कयौ मानिस एवम् घरहरु बगाएका घटनाहरु विगतदेखि नै सुनिदै आएका छन् । कैलालीको गोदावरी नगरपालिकामा पनि त्यस्ता विपत्तिहरुले कतिपय मानिसहरुले अकालमै ज्यान गुमाईसकेका छन । खोलानालाहरुमा आउने बाढीकै कारण कतिपय खेतीयोग्य जमिन पनि बगरमा परिणत भएको छ । गोदावरी नगरपालिका वडा नं. १० मा रहेको चाक्ले खोलाले मानिस मात्रै नभई अटो समेत बगाएको थियो । वर्षायाममा बाढी पहिरो आउँने, डुबान हुने लगायतका घटनाहरु घट्ने गरेका छन ।
खोलानालामा आउने बाढीको कटान बर्षेनि बढ्दै जाँदा त्यसको समाधानका लागी तटबन्ध एकमात्रै विकल्प बनेको छ । गुणस्तरिय तटबन्ध निर्माणले मात्रै खेतीयोग्य जमिनका साथै मानव बस्तीहरुलाई पनि बचाउन सकिने देखिन्छ । गोदावरी नगरपालिका वडा नं. २ मा रहेको गोदावरी नदीको कटान पनि मानव बस्ती नजिकै पुगिसकेको अवस्था छ । वर्षायाममा खोलामा आउने बाढीले उक्त कटान बढेर बस्तीका घरहरु बगाउने चिन्ता बस्तीबासीहरुले गरिरहेका छन ।
यस्ता विपद्जन्य घटनाहरु घट्न नदिन सर्तकता अपनाउन आवश्यक छ । वर्षायाम सुरु हुदै गर्दा अति आवश्यक स्थानमा खोलाको कटान रोक्न र बस्ती बचाउन तटबन्ध निर्माण गर्न जरुरी छ । त्यतिमात्रै नभई नदीको धार परिवर्तन गरी पनि कटान रोक्न सकिन्छ । विगतका वर्षहरुमा आउने गरेका बाढीले कतिपय घरधुरीहरु बगाईसकेको छ, कतिपय मानिसहरुको ज्यान गईसकेको छ भने कतिपय खेतीयोग्य जमिनहरु बगर बनाईसकेको छ ।
फेरी पनि आउदै गरेको वर्षायाममा समस्या समाधान नगर्ने हो भने यसले अझै विकराल रुप नलेला भन्न सकिन्न । त्यसैले भविष्यमा आईपर्नै विपद्को समाधानका लागी पुर्वतयारी अपनाउन आवश्यक छ ।
अति आवश्यक भएका ठाउँमा तटबन्ध निर्माणको काम तुरुन्तै सञ्चालन गरी छिटो सम्पन्न गरिसक्नुपर्ने अवस्था छ भने डुबान हुने क्षेत्रका मानिसहरुलाई बैकल्पीक क्षेत्रमा स्थानान्तरणका लागी स्थानको खोजी गरिनुपर्ने देखिन्छ । विपद् कसैलाई भनेर आउदैन, त्यसैले विपद्को व्यवस्थापनका लागी पुर्वतयारी सबै भन्दा उत्तम उपाय हो । वर्षायामका समयमा आउने विपद्को पुर्वतयारीका लागी आजैदेखि अग्रसरता देखाऔं ।