अत्तरिया – कुनै समय ओलानी क्षेत्रमा घर घरमा गाईभैसी पालेको सम्झिदै गोदावरी नगरपालिका – ११ का निवर्तमान वडाध्यक्ष शिव विकले भने ‘हरेक घरमा ४/५ पशु पालिएका हुन्थे । वनमा चराउन लगिन्थ्यो । गाई भैसी चराउन लग्दा बाटो भरिन्थ्यो ।’ अहिले भने ओलानी क्षेत्रमा पशु पालन निकै न्यून भएको उनको भनाई छ । ‘व्यवसायीक फाइदा लिन नसक्दा गाइभैसी पाल्ने चलन हराउँदै गएको हो’ उनले भने ‘उतिबेला आफू खाने मात्रै र बेच्ने भनेको घिउँ मात्रै हुन्थ्यो । अरु केही पनि बेचिदैनथ्यो ।’
ओलानीलाई पुनः पशुपालनमा फर्काउन अहिले सो क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्न थालिएको छ । हाल विभिन्न संघ, सस्था र सरकारले पशु पालनका कार्यक्रममा संचालन गरेपछि पुनः पशुपालन गर्ने वातावरण बन्न थालेको विकको भनाई थियो । ‘अहिले दुध बेच्ने वातावरण बन्दै छ । अहिले ओलानीमै रहेको नायल कृषि सहकारीले डेरीको व्यवस्थापन गर्दै छ । यसबाट यस क्षेत्रमा भैसी पालनको राम्रो वातावरण बन्दै गएको छ’ उनले भने ‘यसको फाइदा यस क्षेत्रका जनताले लिन आवश्यक छ ।’


उनले तत्काल यस क्षेत्रमा ठूलो उद्योग स्थापना गरेर रोजगारी दिन सक्ने अवस्था नभएकाले यस्तै साना साना व्यवसाय गरेर आयआर्जन बढाउनु पर्ने बताए । ओलानीमा रहेको गोदावरी कृषि विकास सहकारीका अध्यक्ष कृष्ण विकले ओलानी क्षेत्रमा पछिल्लो समय पशु पालनमा आकर्षण बढ्दै गएको बताए । सहकारीका माध्यमबाट सहकारीका सेयर सदस्यको जिविकोपार्जन गर्नका लागि पशुपालनमा जोड दिएको बताए । उनले सोही उद्देश्य अनुसार ओलानी क्षेत्रका १५ जना किसानलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आर्थिक सहयोगमा भैसी वितरण गरिएको बताए ।
उनले भैसीका लागि सुदूरपश्चिम सरकारको कृषि तथा पशुपन्छि कार्यालयमा प्रस्ताव पेश गरेर ५० प्रतिशत अनुदानमा भैसी वितरण गर्ने कार्यक्रम पाएको बताए । उनले सहकारी मार्फत कृषिमा काम गर्ने क्रममा यसअघि २ पटक बाख्रा, तरकारीका बीउविजन, टनेल, थोपी सिचाई वितरण गरेको बताए । सहकारी मार्फत ५० प्रतिशत अनुदानमा भैसी पाएकी गोदावरी नगरपालिका – ११ की सिता गिरीले बाख्रा र कुखुरा पालन संगै अब भैसी पनि पाल्ने बताइन ।

उनले कुखुरा,बाख्रामा बजारीकरणको लागि समस्या भएको बताइन् । भैसीमा बजारीकरणका लागि सहज हुने आशामा पालन गर्ने योजना बनाएको उनले बताईन । उनले भैंसी पालनका लागि सहकारीबाट तालिम पनि लिएको बताइन । उनले भैसी पालनका लागि बजारीकरण, घाँस काट्ने मेसिन सहयोग भए सहज हुने बताइन् ।

गोदावरी नगरपालिका – १२ की इश्वरी विकले भैसी पालनबाट जिविकोपार्जन गर्ने योजना बनाएको बताइन । उनले सहकारीबाट पचास प्रतिशत अनुदानमा भैसी पाएपछि व्यवसायमा लाग्न सहज भएको बताइन । उनले. दुध उत्पादन गरेर बजारमा विक्रि गर्ने बताइन । सोमबार गोदावरी आधुनीक कृषि सहकारीले ५० प्रतिशत अनुदानमा १४ जना किसानलाई मुर्रा जातको भैसी र १ जना किसानलाई रागो वितरण गरेको थियो ।

गोदावरी खानेपानीका अध्यक्ष कृष्ण विकले गोदावरी कृषि सहकारीले गोदावरी क्षेत्रमा कृषिको विकासका लागि राम्रो काम गरिरहेको बताए । ‘गोदावरीमा परम्परादेखि खेतीपाती, गाइभैसीपालन भइरहेको भएपनि त्यो व्यवसायीक हुन सकेको थिएन’ उनले भने ‘आफु खाने सम्मको मात्रै उत्पादन गर्ने खाने गरिथ्यो । अहिले खेतीपातीमा पनि धेरै सुधार भएको छ ।’
वडा नम्बर ११ का वडा सदस्य कुमार वडैलाले वडामा पहिलो पटक पहिलो पटक भैसी वितरण भएको बताए । उनले भैसी पालनबाट खेतीपातीमा पनि सुधार हुने बताए । उनले ओलानीमै डेरी पनि स्थापना हुन लागेकाले यस क्षेत्रमा भैसी पालन व्यवसायीक रुपमा गर्न सहज हुने बताए ।