अहिले पनि सुदूरपश्चिमेलीहरुले ज्यान जोगाउन भारतका अस्पताल धाउनुपर्ने बाध्यता कायमै छ । प्रदेशमा अहिले सम्म बिशिष्टिकृत सेवा सहितको अस्पताल नहुँदा अझै पनि गम्भिर स्वास्थ्य समस्या आउँदा भारत या काठमाण्डौं धाउनुपर्छ ।
देशैभरी सबैजसो प्रदेशमा मेडिकल शिक्षाको अध्ययन भइरहेको भएपनि यस प्रदेशमा भने राज्यले गतिलो अस्पताल समेत संचालनमा ल्याउन सकेको छैन । जसले गर्दा नजिकको सीमावती सहरमा उपचारका लागि जानुपर्ने बाद्यता कायमै छ ।
यही पीडाको सिकार अहिले कैलालीको गोदावरी नगरपालिका – ४ खैराना घर भएका प्रेम दास चौधरीले भोगेका छन । फागुन १४ गते घरमै बसेका बेला एक्कासी ढलेर बेहोस् भएका चौधरीको ब्रेन हेमरेज भएपछि तत्काल सुविधा सम्पन्न अस्पतालमा पुगाउनु पर्ने थियो । तर, यस क्षेत्रमा उपचार हुने नदेखेपछि आफन्तले नजिकको सहर बरेलीमा उपचारका लागि लगेर गएका थिए । अहिले उक्त विरामीको उपचारका लागि लाखैं खर्च वेहोर्न नसकेर परिवार बिचल्लीमा छ ।
बरेलीको खुस्लोक हस्पिटल उनको उपचारका लागि साढे ४ लाख भारतीय रुपैयाँ आवश्यक पर्ने बताएपछि न्यून आय भएको परिवार विचल्लीमा छ । एकातिर नेपालमै उपचार नपाएर भारत जानुपर्ने बाध्यता अर्कोतिर विरानो ठाउँमा उपचार गराउनको लागि आर्थिक समस्या भएपछि चौधरीको परिवार आर्थिक सहयोगका लागि हारगुहार गर्दै छ ।
महिनामा २०/२२ हजार कमाउन धौ धौ हुने चौधरीको परिवारले अहिले दैनिक उपचारकै लागि २०/२२ हजार रुपैयाँ अस्पतालाई खर्च गर्नुपरिरहेको छ । ब्रेन हेमरेज भएपछि लामो समय अस्पतालमा राख्नुपर्ने भएकाले चौधरीको परिवार अहिले निकै बिरानो ठाउँमा निकै समस्यामा परेको छ ।
एक जना नेपाली बाध्य भएर उपचारका लागि भारत जानु र उता आर्थिक अभावकै कारण उपचार गर्न समस्यामा पर्नु निकै दुःखद अवस्था हो । यस्तो अवस्थामा राज्यले वेवास्था गरेपनि यस क्षेत्रका आम सर्वसाधारणले भने उनको उपचारका लागि खर्च जुटाउन सहयोग अभियान संचालन गरेका छन ।
जसका लगि बिभिन्न सामाजिक व्यक्तित्वहरुले सहयोगी हात अगाडी बढाएका छन । जसले गर्दा अहिले चौधरीले केही राहतको सास फेर्ने अवस्थामा पुगेपनि अझै आवश्यक रकमको भने जोहो हुन सकेको छैन । त्यसले देशबाहिर समस्यामा परेको नेपालीको ज्यान जोगाउन सबैले हातेमालो गर्न आवश्यक छ । साथै राज्यले पनि यसमा मौनता नदेखाई यसरी पीडामा परेका नेपालीको पीडामा मलम लगाउन अग्रहस हुनुपर्छ ।