यही चैत ५ र ८ गते स्ववियुको निर्वाचन हुदैछ । विद्यालयमा विद्यार्थीका समस्याहरु समाधान गर्ने, विद्यालयको प्रशासनलाई चुस्त दुरुस्त बनाउने र विद्यार्थीहरुको हक हितका लागी अग्रसर बन्ने कार्य स्ववियुका पदाधिकारीहरुले गर्ने गर्दछन् । विद्यालयमा हुने बेथितिहरुको अन्त्यका लागी विद्यार्थीहरु संगठित बनेर स्वतन्त्र विद्यार्थी युनियनको स्थापना गरिएको हो ।
समग्रमा शैक्षिक उन्नयन, क्याम्पस प्रशासनको वृद्धि विकासका लागि स्ववियु अनिवार्य संस्था हो । स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको पक्षमा आवाज उठाउनुपर्ने कुरा, विद्यार्थीको पक्षमा संघर्ष गर्ने कुराहरु बन्देज भैरहेका थिए ।


२०६५ सालपछि पहिलोपटक त्रिभुवन विश्वविद्यालय र सुदूरपचिम विश्वविद्यालयको सम्बन्धन प्राप्त देशैभरिका क्याम्पसमा निर्वाचन हुन लागेको छ । यसअघि २०७३ सालमा स्ववियु निर्वाचनको घोषणा गरिए पनि केहीकेही क्याम्पसमा मात्रै निर्वाचन भएको थियो । तर कुनै बेला परिवर्तनका मुद्दामा प्रभावशाली भूमिका निर्वाह गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को साख पछिल्ला वर्षहरुमा खस्कँदो छ । २०६५ सालपछि निर्वाचन नै नियमित नभएपछि अस्तित्व समेत संकटमा परेको छ । पछिल्लो केही वर्षदेखि स्ववियु राजनीति मात्रै गर्ने अखडा जस्ता हुन थालेको भन्दै आलोचना भइरहेको छ । पढाइमा अब्बल विद्यार्थी यसबाट भाग्न थालेका छन् ।
विद्यार्थीहरुको हक र अधिकारका लागी लड्ने स्वतन्त्र विद्यार्थी युनियनमा पछिल्लो समय पार्टिगत व्यक्तिहरु मात्रै हावि बन्दा स्ववियु प्रतिको आम विद्यार्थीहरुको चाहना कम हुदै गएको छ । विद्यार्थीहरुका हक हितका लागी लड्ने संस्थाले पार्टिगत रुपमा नभई नेतृत्व गर्न सक्ने क्षमता भएका विद्यार्थीहरुलाई समावेश गराएर हिड्न सक्नुपर्दछ । अलग अलग पार्टीबाट अलग अलग उम्मेदवार बन्नुभन्दा सबै विद्यार्थीहरुको सहमतीमा कुनै दलगत नभई क्याम्पसमा स्वतन्त्र रुपमा आफ्नो अभिव्यक्ति व्यक्त गर्न सक्ने व्यक्तिलाई छनोट गरिदा त्यसले विद्यार्थीहरुका बारेमा बढी बोल्न सक्ने अवस्था हुन्छ ।
बाहिरी रुपमा जुनसुकै दलमा आवद्ध भएपनि विद्यालयको निर्वाचनमा विद्यार्थीको हैसियतमा काम गर्न सक्ने व्यक्ति स्वतन्त्र विद्यार्थी युनियनमा आउनुपर्दछ । दलगत रुपमा आएका विद्यार्थी नेताहरुले आफ्नो दलको शिक्षकका कमजोरीलाई पनि ढाकछोप गर्न तिर लाग्ने गर्दछन् । आफ्नो पार्टी तथा आफु निकट शिक्षक तथा क्याम्पस प्रशासनका विषयमा बोल्न नसक्दा त्यसले निष्पक्ष रुपमा विद्यार्थीका हक हितका लागी आवाज उठाउन सक्दैन् ।
त्यसैले विद्यार्थीको निर्वाचनमा दलगत राजनीति नगरी सबै विद्यार्थीहरुको हकहितका लागी लड्न सर्वसहमतीका आधारमा मिलेर स्वतन्त्र विद्यार्थी युनियनको समिति निर्माण गर्नु अनिवार्य छ ।

















