सरकारले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलाहरुलाई उनिहरुलाई जिवनयापनमा सहजता होस भन्दै सरकारले प्रत्येक तिन महिनामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गर्दछ । जिवन सहजता संगै सम्मान स्वरुप सरकारले दिने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गरिदै आएको छ ।
तर, बैंकमार्फत प्रदान गरिदा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई भने भत्ता बुझ्न सकस हुदै आएको छ । टाढा टाढा बाट भत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरुले बैंकको अगाडी लाईन लाग्नुपर्ने हुन्छ भने अपांग मैत्री संरचना नहुँदा अपांगता भएका व्यक्तिहरुले त्यहि भत्ताको रकम बुझ्न जाँदा अपमानित हुनुपर्ने अवस्था छ ।


बैंक मार्फत दिइने सामाजिक सुरुक्षा भत्ता वितरण गर्ने अधिकांस बैकहरु अपाङ्ग मैत्री नहुँदा खातामा जम्मा भएको रकम झिक्नको लागि अपांगता भएका व्यक्तिहरुले निकै सघर्ष गर्नुपर्ने अवस्था रहेको छ । अपांगता मैत्री संरचना नहुँदा भक्ता लिन माथिल्लो तलामा जानपर्ने र त्यहाँ जादा पनि अपहेलित हुनुपर्ने अवस्था छ ।
कतिपय ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुले त पायक पर्ने ठाउँमा बैंक नहुँदा भत्ता बुझ्न नै नजाने गरेका छन । भत्ता बुझ्न गएको बैंक अगाडी पनि घण्टौ लाईनमा कुर्नुपर्ने अवस्था उनिहरुले भोग्दै आएका छन । जिवन सहजता र आत्मसम्मानले बाच्ने अधिकार प्रदान गर्न सरकारले दिने भत्ता बुझ्न नै आत्मसम्मानको बलि दिनुपर्ने अवस्था आउने गरेको छ । अपांगता भएका व्यक्तिले त झन भत्ता लिनका लागि भुइतलमा भिकारीको जस्तै घण्टौ कुर्नुपर्ने बाध्यता रहेको छ । ह्युलचियरमा दोस्रो तलामा जान नसकिने हुदाँ बैंकका गार्ड मार्फत घण्टौ पछि त्यस्ता व्यक्तिहरुले भुइतलामा सेवा पाउँने गरेका छन ।
अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अनाथ एवम् असहाय व्यक्तिहरुलाई सम्मानको जिवन जिउने आधार दिएको सरकारले भत्ता वितरणमा पनि सहजता प्रदान गर्न सक्नुपर्दछ । बैंक तथा वित्तिय संस्थाहरुबाट भत्ता वितरण गरिनुभन्दा घरघर तथा टोलटोलमै गएर त्यस्ता व्यक्तिहरुलाई भत्ता वितरण गरिनुपर्दछ ।
बैंकिङ क्षेत्रको झण्झट भन्दा उनिहरुलाई टोलटोलमै वितरण गरिने भत्ता लिन बढी सहज हुने देखिन्छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलाहरुलाई दैनिक जिवनयापनका लागी भत्ता महत्वपुर्ण छ । सोही भत्ता पाउन लाईन लाग्नुपर्ने, भिख मागे जस्तो गर्नुपर्ने र मरिमेटी लिनुपर्ने बाध्यता हटाऔ । उनिहरुलाई सहज रुपमा भत्ता लिन सक्ने वातावरणको सृजना गरांै ।

















