खाेज्नुहाेस

अभिभावकलाई बालबालिकाको भविष्य सम्झाउने बोर्ड…

Image

अत्तरिया– भीमदत्त राजमार्ग अन्र्तगत कैलालीको गोदावरी नगरपालिका – ४ बुढितोला पुग्दै गर्दा नजिकै रहेको एउटा बोर्डले धेरैको ध्यान खिच्ने गरेको छ । ‘अभिभावक ज्यू नमस्कार, कहाँ जादै हुनुहुन्छ ? एक पटक विद्यालयमा प्रवेश गरी आफ्ना छोराछोरीको पढाई बारे छलफल गरौँ की ?’ बोर्डमा लेखिएको उक्त कुराले अभिभावक मात्रै हैन उक्त राजमार्ग भएर हिड्ने जो कोहिलाई पनि सोच्न बाध्य पार्छ ।

सोही ठाउँमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका अभिभावकहरुको ध्यान विद्यालयमा केन्द्रित गर्न राखिएको उक्त बोर्डमा बालबालिकाको शिक्षा प्रति अभिभावकले ध्यान दिनुपर्ने सार लुकेको छ ।

attariya hospital

करिब २÷३ महिना अगाडी सुदूरपश्चिमकै कुनै पहाडी जिल्लाको एउटा विद्यालयले लेखेको सामाजिक सञ्जालमा देख्दा त्यसबाट प्रभावित भएर आफुहरुले पनि बोर्ड राखेको विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राज बहादुर बिष्टले बताए । उनले अभिभावकहरुले विद्यालयप्रति चासो दिन छाडेका कारण केही असर गर्छ की भनेर बोर्ड राखिएको बताए । ‘विद्यालयमा केही विषयमा छलफल गर्नुपरे कोही नआउने भएकाले केही असर गर्छ की भनेर त्यो बोर्ड राखिएको हो’ उनले भने ‘भरखरै राखिएको भएपनि बोर्डका कारण विगतको तुलनामा अभिभावकहरुको राम्रो उपस्थिति भैरहेको छ ।’

उनले सामुदायिक विद्यालयको सट्टा निजी विद्यालयहरुमा बालबालिकाहरु भर्ना गराउनु अभिभावकहरुको कमजोरी भएको समेत बताए । ‘अभिभावकहरुको सोच नै निजी विद्यालय गुणस्तरिय र सामुदायिक विद्यालय गुणस्तरहिन हुन्छ भन्ने छ’ उनले भने ‘सरकारी स्कुलका बारेमा अभिभावककै मानसिकता नराम्रो हुँदा विद्यालय कसरी अगाडी बढ्न सक्छन ?’

सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर खस्किनुका पछाडी पनि अभिभावक र सरकार नै जिम्मेवार रहेको उनले बताए ।

अभिभावक र सरकारले चासो नदिदा नै गुणस्तरिय जनशक्ति र आवश्यक भौतिक पुर्वाधार हुँदा हुदै पनि सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर खस्किरहेको उनको भनाई रहेको छ ।

‘एकातिर शिक्षक राम्रा दियो, कक्षाकोठा दियो, भवन दियो तर कस्तो पढाई भैरहेको छ भन्ने कुरामा सरकारले चासो नदिदाँ, अर्काेतिर सरकारी विद्यालय हो यहाँ त्यति राम्रो पढाई हुदैन भन्ने अभिभावकको मानसिकता भएका कारण दिनानुदिन सामुदायीक विद्यालयहरुको गुणस्तर खस्किरहेको छ’ उनले भने ।

शिक्षक र समितिका मानिसहरुको कमजोरी औल्याउने काम पनि अभिभावकहरुको भएकाले जबसम्म अभिभावक चनाखो र विद्यालयप्रति संवेदनशिल बन्दैनन् तबसम्म सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर सुधार्न गाह्रो हुने उनको भनाई रहेको छ । उनले अभिभावकलाई विद्यालयप्रति जागरुक गराउनलाई बोर्डले भूमिका खेल्ने अपेक्षा रहेको समेत बताए ।

navjiwan hospital

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर राम्रो भएपनि उचित व्यवस्थापन नहुँदा कमजोरी भैरहेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रविन्द्र रोक्कामगरले बताए । उनले एकपक्षले मात्रै शिक्षाको गुणस्तर माथि उकास्न खोजेर नहुने र त्यसका लागी विद्यालयमा त्रिपक्षिय सम्बन्ध सुदृढ हुन जरुरी रहेको बताए । ‘बालबालिकाको शिक्षामा सबैभन्दा महत्वपुर्ण हात अभिभावकको हुन्छ’ उनले भने ‘विद्यालयमा शिक्षकले पढाउनुहुन्छ, तर पढाएको कुरा बालबालिकाले बुझे या बुझेनन् भन्ने कुरा शिक्षकले मात्रै नभई अभिभावकले पनि जानकारी राख्न जरुरी छ ।’

उनले शिक्षक, अभिभावक र समितिको परस्पर सम्बन्ध रहने भएपनि विद्यालयमा आवश्यकता परेको समयमा अभिभावकहरुको उपस्थिति नहुने भएकाले बोर्ड राखिएको बताए । उनले पनि बोर्डका कारण विद्यालयमा अभिभावकहरुको उपस्थिति राम्रो भैरहेको समेत बताए ।

‘विद्यालय गएर बालबालिकाहरुको निगरानी गर्ने काम भएन, अभिभावकसँगको बैठक बोलाउदा समेत उपस्थिति न्यून हुन थाल्यो’ उनले भने ‘सोही कारण त्यो बोर्ड लगाएका हौ, अहिले चियापानका लागि सडकतिर आउने अभिभावकले पनि सो बोर्ड पढेर एक चोटी विद्यालयमा छिर्ने गरेका छन ।’

उनले उक्त बोर्ड निर्माणका लागि विद्यालयबाट लगानी नगरेको समेत बताए । उनले विद्यालयको शिक्षक अभिभावक संघले लगानी लगाएर उक्त कार्य भएको र विद्यालय व्यवस्थापन समितिले व्यवस्थापन र सहकार्यको काम गरेको बताए ।

नमुना विद्यालय बनाइने

यसैबीच अध्यक्ष रोक्कामगरले प्राकृतिक दृष्ट्रिकोणले मनोरम स्थानमा रहेको उक्त विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडी बढाउने लक्ष्य रहेको बताए । चालु शैक्षिक सत्रबाट माध्यमिक तहको अध्यापन भैरहेको उक्त विद्यालयमा भौतिक पुर्वाधार निर्माणको काम भैरहेको छ ।

विद्यालयमा नगरपालिकाबाट आएको शैक्षिक सुधार कार्यक्रम अन्र्तगतको ४ कोठे पक्कि भवन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ भने राष्ट्रिय भुकम्प प्रविधि समाज नेपाल नामक संस्थाले बनाउन लागेको ४ कोठे पक्कि भवनको लागी सम्झौता गरिएको छ ।

अध्यक्ष रोक्कामगरले कक्षा ८ सम्मको अध्ययन पश्चात अत्तरिया आउनुपर्ने वा चुरे गाउँपालिकाको खानिँडाडा जानुपर्ने बाध्यता अहिले हटेको बताए । ‘पहिलो पटक माध्यमिक तहको अध्यापन हुँदा कक्षा ८ पछि बाहिर जानुपर्ने बाध्यता हटेको छ’ उनले भने ‘अब प्राविधिक शिक्षा भित्र्याई यसलाई शिक्षाको हब बनाउने हाम्रो लक्ष्य रहेको छ ।’

प्राकृतिक र वातावरणिय दृष्ट्रिकोणले पनि रमणिय स्थानमा रहेको उक्त विद्यालयलाई व्यवस्थीत बनाउन सके भारतको नैनिताल, देहरादुन जस्तै शैक्षिक पर्यटकिय क्षेत्र बन्ने कुरामा दुई मत छैन ।