सरकारको प्राथमिकता प्राप्त आयोजना गेटा मेडिकल कलेज निर्माणस्थलमा निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये अधिकासंको निर्माण पूरा भइसकेको छ । केही संरचनाको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।
अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, लास घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । भवनमा फर्निचर, पानी, विद्युतीकरण र फोहर व्यवस्थापनको काम भइरहेको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा करिब चार अर्ब ५० करोड खर्च भइसकेको छ ।

यती धेरै रकम खर्च गरेर निर्माण गरेको संरचना प्रयोगमा भने अझै पनि अन्योल कायमै छ । निकै सघर्ष गरेर गेटामा मेडिकल कलेज बनाउने भनेर भौतिक संरचना निर्माणको काम अघि बढेको थियो । सुरुका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र देखिएको झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योल देखिएको थियो ।

सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेपछि पनि भौतिक संरचना निर्माणको काम भने २०७४ देखि मात्र सुरु भएको थियो । काम सुरु भएपछि भने भवन निर्माणको काम तिब्र गतिमा अघि बढेको थियो । जनतामा छिटै गेटामा पढ्न पाउने र उपचार गराउन पाउने आशा जागेको थियो ।
तर, राज्यले भवन भवन मात्रै ठड्याएर संचालनको मोडालिटि नदिएर लामो समय सम्म संचालन नगर्दा जनतामा निरासा छाएको छ । ऐन कानून बनाउन भइरहेको ढिलाइले हाल प्रस्तावित ‘गेटा मेडिकल कलेज’ लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्ने अन्योल सिर्जना भएको छ । ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा सञ्चालन भन्नेमा टुङ्गो लाग्न नसकेर अन्योल देखिएको छ ।
गत वर्ष दुईपटक विघटन भई पुनःस्थापित प्रतिनिधिसभा बाटै ऐन बनाउन यस क्षेत्रका विभिन्न सघर्षका कार्यक्रम नै संचालन गरिएका थिए । तर, निर्वाचन भएर नयाँ प्रतिनिधिसभा गठन हुँदा पनि ऐन बनाउने काममा सरकारले तदारुकता देखाउन सकेको छैन । जसले गर्दा अरवै खर्च गरेर निर्माण गरेका भवन प्रयोगमा नआउँदा जिर्ण बन्ने खतरामा छ ।
कलेजलाई एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान, मेडिकल कलेज वा विश्वविद्यालयमध्ये कुनै एक प्रारुपमा सञ्चालन गर्ने भन्ने निक्र्योल हुन सकेको छैन । यस क्षेत्रका जनताको माग मेडिकल विश्वविद्यालय हुनुपर्ने भएपनि राज्यले ऐन बनाउन चासो दिएको देखिदैन् ।
जसले गर्दा अहिले पनि यस क्षेत्रका जनता जटिल उपचारका लागि भारत जान बाध्य छन । त्यसले सुदूरपश्चिमका जनताले ठूलो आशा बोकेको प्रस्ताविक गेटा मेडिकल कलेजलाई ऐन ल्याएर चाडो भन्दा चाडो संचालन गर्न आवश्यक छ ।

















