अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा दादुराको जोखिम बढेको छ । नगरपालिकाका १ जनामा हालसम्म दादुराको संक्रमण पुष्टि भइसकेको छ भने २ जना संङ्कास्पदको नमूना संकलन गरि परिक्षणका लागि पठाइएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार गोदावरी नगरपालिका – ३ भैसीहारका ५ वर्षका एक बालकमा दादुरा संक्रमण भएको पुष्टि भइसकेको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले दादुरा संग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको सोमबार मात्रै नमूना संकलन गरिएको बताए । उनले नमूना परिक्षणका लागि पठाएको र, नजिता आउन ५/६ दिन लाग्ने बताए ।

‘संकलन गरिएको नमूना डब्लुएचओको टिमले लगेर जान्छ । त्यसको नतिजा आउन ५/६ दिन लाग्छ’ उनले भने ‘दादुराको जस्तो लक्षण देखिएकाले मालाखेती अस्पतालबाट उनीहरुको नमूना संकलन गरिएको हो ।’
उनले दादुराको नियमित खोप लगाएमा यसको जोखिमबाट बच्न सकिने बताए । ‘गोदावरीमा दादुरा संक्रमण पुस्टि भएका बालकले दादुराको खोप लगाएको परिवारले बताएपनि त्यसको पुष्टि गर्ने कुनै कागजात भेटिएको छैन’ उनले भने ‘दादुराबाट बच्नको लागि ९ महिना र १५ महिना उमेरका बालबालिकालाई २ डोज लगाएर त्यसपछि पनि १६ बर्ष सम्म ५÷५ बर्षको फरकमा यो खोप लगाउनु पर्छ । नियमित खोप नलगाए दादुराको हुने जोखिम बढी हुन्छ ।’
सरकारले २०२३ सम्ममा नेपालबाट दादुरा निर्मुल गर्ने लक्ष लिएको भएपनि यस बर्ष देशका धेरै ठाउँमा दादुरा देखिएपछि यो लक्ष्य पुरा नहुने देखिएको छ । कैलालीमा मात्रै २ जनामा दादुरा संक्रमण भएको पुष्टि भइसकेको छ । अर्को बालक गौरीगंगा नगरपालिका – ६ का रहेका छन् ।
दादुराको कुनै पनि उपचार नभएका कारणले खोप लगाई रोगबाट बच्नुनै यसको उचित उपाय भएको स्वास्थ्यकर्मीहरु बताउन्छन । नेपाल सरकारले निशुल्क प्रदान गर्ने दादुराको खोप लगाए यसको प्रभावकारिता ९७ प्रतिशत हुने भएकाले यस कार्यक्रमलाई सशक्त रुपमा संचालन गरिदै आएको छ । तर, कतिपयले खोप लगाउन लापरवाही गर्ने भएकाले यो कार्यक्रम प्रभावकारी हुन सकिरहेको छैन ।
दादुरा स्वासप्रस्वासको माधय्म बाट सर्ने र सजिलै फैलिने खालको रोग हो । यो मिजल्स भाइरसले गराउँछ । दादुरा विकासोन्मुख देशहरुमा पटक पटक देखिने र फोक्सो तथा मस्तिस्कमा संक्रमण गरि ज्यान जोखिममा पार्ने घातक रोग हो । दादुरा भएका व्यक्तिहरुले दादुराका लक्षण (ज्वरो, डाबर ) देखिनु २ दिन अघि र ५ दिन पछि पनि अरुलाई रोग सार्न सक्छन् ।
दादुराले फोक्सोको संक्रमण (निमोनिया), मस्तिस्कको संक्रमण (इन्सेफलाइटिस), मुटुको संक्रमण, कलेजोको संक्रमण (हेपाटाइटिस) , मिर्गौलाको संक्रमण, कानको संक्रमण, आँखाको संक्रमण र रगतमा प्लेटलेटको मात्रा कम गराई रगत बग्ने समस्या ल्याई ज्यान जोखिममा पार्दछ ।
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले जारी राखेको लकडाउनका कारण पनि बालबालिकामा लगाइने सबै प्रकारका खोप कार्यक्रम संचालन हुन नपाउँदा पनि दादुराको जोखिम बढेको जानकारहरु बताउन्छन ।