मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको सम्पुर्ण नजिता आईसकेको छ । निर्वाचनमा प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक दुवै गरी नेपाली कांग्रेस पहिलो पार्टी बन्न सफल भएको छ भने नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो र भरखरै स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो बनेको छ । प्रत्यक्षमा निर्वाचित भएका व्यक्तिहरुलाई जनताले चुनेर पठाएपनि समाुनपातिकमा परेका व्यक्तिहरुलाई भने राजनीतिक दलहरुले पाएको भोटको आधारमा राखिने व्यवस्था छ । सोही अनुसार राजनीतिक दलहरुले आ–आफ्ना पहुचका आधारमा समानुपातिक कोटाबाट सांसदमा राखेका छन ।
राजनीतिक दलका मुख्य व्यक्तिहरुका नजिकका प्रायजसो सबै नेताहरु समानुपातिक तर्फबाट सांसद बनेका छन । देशका ७ वटै प्रदेशबाट विभिन्न वर्गका मानिसहरुलाई छनौट गरेर समानुपातिक कोटा पुरा गर्नुपर्ने हुन्छ । राजनीतिक दलहरुले निर्वाचन अगावै समानुपातिकको सुचि तयार गरेका थिए । जसअनुसार पार्टीले पाएको मतका आधारमा उनीहरुले व्यक्तिलाई सिफारिस गरेका छन ।

तर राजनीतिक दलहरुले तयार गरेको सुचि उनीहरु स्वयम् पालना गरेका छैनन् । सुचिमा क्रमवद्ध रुपमा राखिएका व्यक्तिहरुलाई छोडेर सुचिमा अन्तिम तिर रहेका व्यक्तिहरुलाई समेत राजनीतिक दलहरुले समानुपातिक सांसदमा सिफारिस गरेका छन । समानुपातिकको सुचि तयार गर्दा समेटिएका सुदूरपश्चिमका नेताहरु सिफारिस गर्दा भने राजनीतिक दलको थिचोमा परेका छन । राजनीतिक दलहरुले समानुपातिक सुचिमा सुदूरपश्चिममा हेपेको छ ।

समानुपातिकमा सबैभन्दा बढी सिट पाएको नेकपा एमालेले सुदूरपश्चिमबाट प्रतिनिधि सभामा समानुपातिक तर्फबाट एक जनालाई मात्रै समावेश गरेको छ । समानुपातिकमा बाजुराका दयालबहादुर शाहीमात्रै समानुपातिकको सिफारिसमा परेका छन ।
एमालेले झापाबाट मात्रै सबैभन्दा बढी ४ जनालाई समानुपातिकमा सिफारिस गरेको छ । यसैगरी दोस्रो ठुलो दल बनेको नेपाली कांग्रेसले पनि समानुपातिकमा सुदूरपश्चिमबाट एक जनालाई मात्रै सिफारिस गरेको छ । समानुपातिकमा कांग्रेसका तर्फबाट कैलालीकी ईश्वरी न्यौपाने सिफारिस भएकी छन ।
कांग्रेसले सुदूरपश्मिबाटै सिफारिसमा पर्ने भनिएकी डा. आरजु राणा देउवालाई ललितपुरबाट समानुपातिकमा सिफारिस गरेको छ । यसैगरी तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रले पनि समानुपातिकमा एक जनालाई मात्रै सिफारिस गरेको छ । माओवादीले कैलालीकी रुपा सोसी चौधरीलाई समानुपातिकमा सिफारिस गरेको हो । मुख्य तिन दलहरुले सुदूरपश्चिमबाट एक/एक जना मात्रै समानुपातिकमा सिफारिस गर्दा भरखरै स्थापित र देशकै चौथो ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले एक जनालाई पनि सुदूरपश्चिमबाट समानुपातिकमा सिफारिस गरेको छैन ।
यसरी सबै ठुला पार्टीहरुको समानुपातिक सुचि हेर्दा सुदूरपश्चिम हेपिएको देखिन्छ । समानुपातिकमा पार्टीले पाएको मतको आधारमा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४ र रास्वपाले १३ सिट पाएको थियो ।
यसरी चार मुख्य पार्टीका कुल ९३ सिटमध्ये सुदूरपश्चिमले भने ३ सिट मात्रै पाएको छ । देशका सात वटै प्रदेशमा औषत १३ जनाका दरले सिफारिस गर्न मिल्ने अवस्था रहेपनि सुदूरपश्चिबाट ४ वटै दलहरुका ३ जना मात्रै सिफारिसमा पर्नु सुदूरपश्चिमलाई हेपाहा प्रवृत्तिले हेरेको स्पष्ट हुन्छ ।

















