अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालको छुट्टै कोष (खाता) संचालन गरिने भएको छ । ‘अस्पताल व्यवस्थापन समिति गठन निर्देशिका २०७९’ बमोजिम अब अस्पतालको छुट्टै खाता संचालन गर्न लागिएको हो । गोदावरी नगरपालिका मातहतमा रहेको मालाखेती अस्पतालमा हाल गोदावरी नगरपालिका मार्फत नै आर्थिक कारोबार हुँदै आएको छ ।
नगरपालिकाले नयाँ निर्देशिका अनुसार बुधबार डा. नर बहादुर मौनीको अध्यक्षतामा ७ सदस्यीय समिति मनोनित गरेको छ । निर्देशिका लागु हुनु पुर्व अस्पतालको अध्यक्ष नगरप्रमुख रहदै आएका थिए । निर्देशिका अनुसार अब नगरप्रमुख संरक्षकको रुपमा रहने छन ।


नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले हाल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षर चल्ने गरी अस्पतालको छुट्टै खाता भएको बताए । उनले अब भने निर्देशिका बमोजिम समिति अध्यक्ष, अस्पतालका प्रमुख वा मेडिकल सुपरिटेण्डेन र अस्पतालका लेखा अधिकृत गरी तिन जनाको हस्ताक्षर चल्ने गरी खाता संचालन गरिने बताए ।
निर्देशिका अनुसार उक्त कोषमा नेपाल सरकार, प्रदेश सरकार तथा नगरबाट अस्पताल संचालनको लागि अस्पताल व्यवस्थापन समितिका नाममा प्राप्त हुने रकम, अस्पतालले सेवा प्रदान गरे बाफत प्राप्त हुने अनुदान रकम, अन्य दातृ निकाय वा दाताबाट प्राप्त हुने रकम जम्मा गरी खर्च गरिने छ ।
निर्देशिका अनुसार समितिमा प्राप्त भएको उक्त रकम सार्वजनिक खरिद ऐन, नियमावली तथा प्रचलित कानुन बमोजिम गर्नु पर्ने छ तर, बिदेशी सरकार, संघ सघं वा व्यक्तिबाट प्राप्त रकम लिनको लागि भने प्रचलित कानुन बमोजिम अनुमति लिनुपर्ने उल्लेख गरिएको छ । यसअघि उक्त सबै रकम नगरपालिका मातहतमा रहेर खर्च हुँदै आएको थियो ।














